काठमाडौं– विवेकशील साझा पार्टीमा जारी विवादका बीच कारबाहीमा परेका संयोजक मिलन पाण्डे अर्का संयोजक रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। पाण्डे निकट विवेकशील साझाका प्रवक्ता हरिश भट्टका अनुसार मिश्रविरुद्ध पाण्डेले कानुनी लडाइँ सुरु गरेका हुन्।
उनका अनुसार पाण्डेले आफूमाथि कारबाही गर्ने पार्टीको निर्णयलाई अभिलेख गर्ने निर्वाचन आयोगविरुद्ध पनि मुद्दा दिएका छन्। मुद्दामा गत भदौ १७ पूर्वको अवस्थाबाट पार्टी सञ्चालनका लागि परमादेशको माग गरिएको छ भने निर्वाचन आयोगले गरेको अभिलेखलाई खारेजीका लागि उत्प्रेषण आदेश माग गरिएको छ।
मुद्दाको अन्तिम निर्णय नभएसम्म आगामी स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा निर्णय गर्न भदौ १७ गते पूर्वको १३० सदस्यीय केन्द्रीय समितिलाई कार्य गर्न दिनुपर्ने र पार्टीका अध्यक्ष एवं संयोजक दुवैले पार्टीको विधानअनुसार पार्टी सञ्चालनका लागि परमादेश माग गरिएको छ।