काठमाडौं– प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ। भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे एक कार्यक्रमका बीच सहकार्यपत्रमा हस्ताक्षर भएसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको हो।
बुधबार फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्युआरमार्फत सहजै रकम भुक्तानी गर्न सकिने बताइएको छ। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा थप मद्दत पुग्ने बताए।
त्यसैगरी, प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्य आफूहरुको लागि सुवर्ण अवसर भएको बताए। डिजिटलाइज र क्यासलेस बनाउने आफूहरुको सोच पूरा गर्न आगामी दिनमा मिलेर अगाडि बढ्ने उनले बताए। फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेको बताइएको छ।
बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएको फोनपेले जनाएको छ। त्यसैगरी प्रभुपेका ७ लाख भन्दा धेरै ग्राहक रहेको बताइएको छ। प्रभुपेमार्फत मोबाइल र टिभी रिचार्ज, हवाई टिकट, मुभी टिकट लगायत थुप्रै सेवाहरुको डिजिटल भुक्तानी गर्ने गरिएको छ।