काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको नवौं राउन्डको अन्तिम खेलमा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबसँग २–१ को हार बेहोरेको छ। कोभिडको महामारी र मैदान चिसो भएका कारण दुई पटक सरेर त्रिपुरेश्वरको दशरथ रंगशालामा बुधबार सम्पन्न भएको खेलमा पुलिसले जित निकालेको हो।
फिफा जनवरी फुटबल विन्डोपछिको पहिलो खेलमा पुलिसको जितका लागि दुवै गोल रवीशंकर पासवानले गरे। उनले पहिलो हाफ र दोस्रो हाफमा १–१ गोल गरे। आजको जितसँगै १० अंक बनाएको पुलिस तालिकाको नवौं स्थानमा उक्लिएको छ।
खेलपछि पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापाले आज सहजपूर्वक जित निकालेको बताएका छन्। उनले भने, ‘तीन अंक चाहिन्थ्यो, आरामपूर्वक लियौँ। खेल हाम्रो पक्षमा नै थियो। सुरुमा हामीले चाहिँ पेनाल्टी पाएनौँ। दबाब केही त भयो। त्यसैले प्रदर्शनमा सुधार ल्याउने छौं।’
पुलिससँग समान १० अंक बनाएको एपीएफ ११ औं स्थानमा छ। यता, लिगमा छैटौं हार बेहोरेसँगै च्यासल क्लब भने रेलिगेसन जोनमा छ। उसले अहिलेसम्म पाँच अंक मात्र जोडेको छ।
औसत सुरुवात भएको खेलमा दुवै टिमले केही अवसर गुमाएका थिए। खेलपछि च्यासलका फुटबल डाइरेक्टरले त्यहि कुरा बताएका छन्। खेलाडी धेरै दुःखी रहेको पनि उनले बताए। उनले भने, ‘दोस्रो हाफमा राम्रो खेल्न सकेनौं। धेरै अवसरलाई सदुपयोग गर्न सकेनौं। धेरै खेल राम्रो खेल्दा पनि यस्तो भयो। युवा खेलाडीलाई अवसर दिएको हो र पोसेसन पनि राखेको हो।’
च्यासलले लिगको दोस्रो खेलमा एपीएपलाई हराएपछि उसले लिगमा जित निकाल्न सकेको छैन। उसले त्यसपछि आर्मी, जवालाखेल, हिमालयन शेर्पा, मनाङ र पुलिसँग हार बेहोरेको हो। त्यस्तै, एनआरटी र संकटा क्लबसँग बराबरी खेलेको छ।
खेलको ३१ औं मिनेटमा च्यासलका आशिष राईले गरेको प्रहार गोलकिपर शत्रुघन कुमार चौधरीले बचाएका थिए। त्यस्तै, ४५ औं मिनेटमा राजिव लोप्चनले गरेको फिलतो प्रहार भने डिफेन्डरले नै क्लियर गरिदिए।
यता पुलिसले पहिलो हाफमा दबाब कायम गर्दै अग्रता बनाएको थियो। तर खेलको १६ औं मिनेटमा निरकुमार राईले डी बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरियो।
त्यस्तै, २४ औं मिनेटमा २० यार्डबाट तेज तामाङको गरेको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएको थियो। तर खेलको ३७ औं मिनेटमा पुलिसले अग्रता बनायो। निर कुमारले दिएको पासमा रविशंकर पासवाले मैदानको बायाँबाट पोस्टअघि रहेको सुमन लामालाई क्रस गरेका थिए। तर गोलकिपर अर्पण कार्की अघि रहेको अवस्थामा रवीको क्रस नै गोलपोस्टभित्र छिरेको थियो।
यससँगै पहिलो हाफमा एक गोलको अग्रता बनाएको हो। त्यो गोल गल्तीले खाएको मेन्सनले बताएका छन्। उनले भने, ‘पहिलो गोल गल्तील भयो। नहुनु पर्ने थियो। तर हामीले युवा खेलाडीलाई खेल्ने सहि तरिका सिकाइरहेका छौं। दबाबमा कसरी खेल्ने र पास दिने भन्ने सिकाइरहेका छौं।’
गोलबाहेक सुमनले खेलको ४२ औं मिनेटमा गरेको प्रहार गोलकिपर चौधरीले बचाएका थिए। यता दोस्रो हाफमा दुई टिमबाट दुई गोल भए। खेलको ५० औं मिनेटमा च्यासलका विकास मेराग्लियाले गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो।
विकासको प्रदर्शनबारे कुरा गर्दै फुटबल डाइरेक्टर मेन्सनले भने, ‘समग्र खेलमा पनि हामी आजको नतिजाभन्दा धेरै डिजर्भ गर्छौं। विकास(मेराग्लिया) युवा खेलाडी हुन्। उनी खेल इन्टेलिजेन्स हुन्। र, इटालीयन स्टाइलमा खेल्छन्। उच्च लेभलमा खेल्छन्। उनलाई अब केहि समय चाहिन्छ। हामी उनको ठिक पोजिसनको खोजि गरिरहेका छौं।’
त्यसपछि खेलको ५१ औं मिनेटमा च्यासलले पेनाल्टीको अवसर पायो। सुमेस सुवेदीले रुमेश बर्तौलालाई बक्सभित्र लडाएपछि च्यासले पेनाल्टीको अवसर पाएको हो। जहाँ मोउसो आबागामाले पेनाल्टीको अवसरलाई गोलमा परिवर्तन गरेका थिए।
यससँगै च्यासलले खेल बराबरी गरेको थियो। तर पुलिसले ६६ औं मिनेटमै फेरि अग्रता बनायो। जहाँ सुमन लामाले दिएको पासमा रविले दोस्रो बारमा प्रहार गर्दै गोल गरेका थिए। त्यसपछि पनि पुलिसले केहि आक्रमण बुने पनि गोल गर्न चाहिँ सकेन।
खेलको इन्ज्युरी समयमा मोउसाले प्रहार गरेको बल डिफ्लेक्ट भएर पोस्टको बारमा लागेर बाहिरियो यससँगै च्यासलले गोलको अन्तिम अवसर गुमाएको हो। यसबीच उसले एक पटक कर्नर प्रहार अवसर पाए पनि गोल गर्न सकेन।
पहिलो पटक क्लबका तर्फबाट पत्रकार सम्मेलनमा आएका डाइरेक्टर मेन्सनलले खेलपछि आफ्नो टिमको फिनिसिङ राम्रो नभएको बताएका छन्। उनले नेपाली खेलाडी राम्रो लेभलमा खेलिरहेको पनि बताएका छन्। टिमको फिनिसिनमा समस्या भएको कारण राम्रो खेल्न नसकेको पनि बताएका छन्।
उनले अहिले पनि चार खेल र त्यसबाट प्राप्त हुने १२ अंक बाँकी रहेको कारण लिग १७ अंक बनाएर सक्ने आशा रहेको पनि उल्लेख गरे। यता पुलिसका प्रशिक्षक अनन्त राज थापाले चाहिँ घुमाउरो पारामा आफू खराब अवस्थाबाट केहि सुरक्षित अवस्थामा जाँदै गरेको बताएका छन्। उनले भने, ‘के अब पुलिस रेलिगेन बाट बच्यो त भन्न प्रदर्शनमा उनले भने यो अवस्था जहिल्यै पनि आउँछ। यसबाट लेसन लिएर हामी धेरै खेल्नुपर्छ र हामीले सेफ ल्यान्ड गुर्नुपर्छ।’