जनकपुरधाम- फोहोर व्यवस्थापनतर्फ चासो देखाउन नसकेको जनकपुर उपमहानगरपालिकाले धार्मिक तथा ऐतिहासिक महत्व नै समाप्त पार्ने गरी नदी थुनेर डम्पिङ साइटको रुपमा प्रयोग गर्न थालेको छ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २३ लादो बेलास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुधमती नदीको मुहान बन्द हुनेगरी उपमहानगरपालिकाले शहर भरीको फोहोर थुपार्ने कार्य शुरु गरेको हो।
फाहोर व्यवस्थापन गर्न ल्याण्डफिल साइट निर्माणका लागि जग्गा उपलब्ध हुनुका साथै रकम समेत विनियोजन भइसक्दा पनि उपमहानगरपालिकाले त्यसतर्फ ध्यान नदिई नदीमै फोहोर फ्याल्ने कार्य अगाडी बढाएको छ।
उपमहानगरपालिकाले धार्मिक महत्वको दुधमती नदीमा फोहोरमैला विसर्जन गर्न थालेपछि नदी प्रदुषित समेत हुन पुगेको स्थानीयहरु बताउँछन्।ल्याण्डफिल साइट निर्माणतर्फ चासो नदेखाएका उपमहानगरपालिका प्रमुख लालकिशोर साहको निर्देशनमा सफाई कर्मचारीहरु नदी छेउमा करिब तीन बिघा क्षेत्रफलमा फैलिएको श्मसानघाटमा थुपार्दै आएका थिए। लगातार तीन महिनासम्म उपमहानगरपालिकाले श्मसानघाटमा फोहोर थुपार्न थालेपछि स्थानीयहरु विरोधमा उत्रिए। देवस्थलको रुपमा चिनिने श्मसानघाटलाई फोहोर थुपार्न प्रयोग गरिएको भन्दै यस्ता कार्य रोकिनु पर्ने उनीहरुको माग थियो।
स्थानीयहरु फाहोर व्यवस्थापन गर्न अन्य विकल्प खोज्नु पर्ने भन्दै वडा अध्यक्ष शत्रुध्न पाण्डेयलाई घेराउ नै गरे। स्थानीयहरुको दबाबपछि २६ असारमा पाण्डेयले श्मसानघाटको फोहोर यथाशीघ्र हटाउने भन्दै लिखित प्रतिवद्धता नै व्यक्त गरे । तर, मसानघाटको फोहोर झिकेर अहिले त्यहाँ नजिकै बग्ने दुधमती नदीमा फ्यालिएको स्थानीयहरुले बताए।
देवस्थलमा फाहोर फाल्नु उपयुक्त नरहेको वडाअध्यक्ष पाण्डेय समेत स्वीकार गर्दछन्। धोकावस त्यहाँ फोहोर फ्यालिन गएको भन्दै उनले फाहोर उठाउन उपमहानगरपालिकामा पत्राचार गरेको बताए।
दुधमती नदीको महत्व रामायण र माता सीताको बाल्यकालसँग सम्बन्धीत रहेकोले हाल निजीस्तरमै नदी सरसफाई अभियान समेत शुरु गरिएको छ। निजीस्तरमा यहाँका स्थानीयहरुले नदी सरसफाई अभियान सञ्चालन गरिरहेको अवस्थामा नगरप्रुमख लालकिशोर साह र वडा अध्यक्ष पाण्डेयको मिलोमतोमा नदीको मुहान नै मेटाउने र इतिहास समाप्त गर्ने षडयन्त्र भइरहेको गौ–संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठले आरोप लगाए।
जनकपुरको फोहोर व्यवस्थापन गर्न एकीकृत शहरी विकास आयोजना अन्तर्गत २० फागुन २०७३ मा जनकपुर उपमहानगरपालिका र केन्द्रीय गुठी संस्थानबीच सम्झौता भई जग्गा समेत उपलब्ध भइसकेको छ। ल्याण्डफिल साइट निर्माण गर्न गुठी संस्थानले १२ बिघा १० कठ्ठा १६ धुर जग्गा २० वर्षको लागि उपलब्ध गराएको छ । अत्याधुनिक ल्याण्डफिल साइट निर्माण गर्न ४८ करोड रकम समेत विनियोजन भइसकेको छ।
सम्झौता अनुसार उपमहानगरपालिकाले जग्गा उपयोग गरे वापत गुठी संस्थानलाई वार्षिक ४ लाख ५ हजार २ सय ९३ रुपैयाँ बुझाउँदै आएको छ। तर, जग्गा उपलब्ध भएपनि उपमहानगरपालिकाले ल्याण्डफिल साइट निर्माणतर्फ चासो देखाएको छैन्। ल्याण्डफिल साइट निर्माण भए फोहोरमैला व्यवस्थापनको नाउँमा उपमहानगरपालिकामा हुने अनियमितताको बाटो बन्द हुने हुनाले त्यसतर्फ ध्यान नदिइएको जानकारहरु बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४