वीरगन्ज- जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन्। वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताएका हुन्।
‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’, अध्यक्ष राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई-मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’
जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्यो। किनकि एकै दिनमा यो समस्या समाधान हुने होइन।’
निर्वाचनबाट कुनै ठूलो उथलपुथल नहुने उनले बताए। 'अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो। जुनसुकै सरकार आए पनि हाम्रो एजेन्डा यही रहने हो। त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाए हुन्थ्यो’, राउतले भने, ‘किसान आन्दोलनको ज्ञापनपत्र नलिने तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरु दौडिरहेका छन्।’
फागुन १ गते अर्को चरणको किसान आन्दोलन घोषणा हुने जानकारी पनि अध्यक्ष राउतले दिए। मौसमको खराबीका कारण राजमार्ग केन्द्रित आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको उनको भनाइ छ।
किसान आन्दोलनको विरोध गर्नेहरुप्रति लक्षित गर्दै अध्यक्ष राउतले भने, ‘आन्दोलनमा किसानले प्रहरी-प्रशासनको दमनको सामना गरिरहँदा प्रदेश सरकार र संघीय सरकारमा रहेका दलहरुले आन्दोलनको विरोधमा प्रदर्शन गरे। प्रेस विज्ञप्ति जारी नै गरेर आन्दोलनमा दमन गर्न प्रोत्साहन गरे।’
कृषिमन्त्री मधेशकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको जिकिर अध्यक्ष राउतले गरे। डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानको मागमा सरकारले चासो नदिएको प्रति उनले दुःख व्यक्त गरेका छन्। जनमत पार्टीले किसान आन्दोलन मात्रै नभई जनजीविकासँग सम्बन्धित मागमा समेत आन्दोलन गर्दै आएको उनले बताए।
‘हाम्रो पार्टीको झण्डामा अष्ट दल छ। जनमत पार्टी सम्यक् क्रान्तिअनुसार अगाडि बढ्छ। सम्यक् क्रान्तिमा आठवटा आयाम छ।’ उनले भने,‘राजनीतिक, आर्थिक, समाजिक, शैक्षिक, वातावरणीय, सांस्कृतिकलगायतको क्रान्ति हुनेछ।’
अध्यक्ष राउतले भने, ‘सीके राउत किसान नभएर पनि किसानको आन्दोलन गरेको भनेर आलोचना भइरहेको छ। उहाँहरुलाई हामी भन्न चाहन्छौं, महिलाको अधिकारका लागि पनि जनमत पार्टीले आन्दोलन गर्नेछ त्यसबेला नभन्नु होला कि सीके राउत त महिला होइन तर महिलाको आन्दोलन किन गर्छ?’
किसान आन्दोलनमा उठेका मागहरु सम्बोधन गर्न कानुन बनाउनुपर्ने भएकाले आफूहरुको माग संघीय सरकारसँग रहेको डा.राउतले बताए।