काठमाडौं– नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङ नेपालमा गैरकानुनी भएको र यसको प्रकृति नै गैरनियमन भएकाले सचेत रहन आग्रह गरेको छ। यसले गर्दा अर्थव्यवस्था र जनजीवन नै प्रभावित हुने खतरा रहेको निष्कर्ष केन्द्रीय बैंकले निकालेको छ।
पछिल्लो समय नेपालमा पनि नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको छ। यसै सन्दर्भमा मंगलबार सार्वजनिक सन्देश जारी गर्दै राष्ट्र बैंकको गभर्नर कार्यालयले यी कारोबारले देशको अर्थतन्त्र मात्र नभएर लगानी गर्नेहरुको लगानी पनि जोखिममा पर्नसक्ने भन्दै सचेत गराएको हो।
क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ कसरी चुनौतीपूर्ण छ भनेर राष्ट्र बैंकले आधारसमेत दिएको छ–
१) सम्पत्ति शुद्धीकरण तथा आतवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम
क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने देखिन्छ।
क्रिप्टोकरेन्सीको कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिमबारे एफएटीएफले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको थियो, जसमा एनोमिटी, सेगमेन्टेसन अफ सर्भिस डिसेन्ट्रलाइज्ड सिस्टम आदिबाट जोखिम हुने औंल्याइएको छ।
२) ठगी तथा कर छली
क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने देखिन्छ। फाइननान्सियल स्टेबिलिटी इन्स्टिच्युटको अप्रिल २०२१ को प्रतिवेदनमा उल्लेख भएअनुसार एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा अपराधिक बिटक्वाइन ठेगानाबाट मात्र अमेरिकी डलर ३.५ अर्ब पठाएको देखिन्छ। नेटवर्किङ मार्केटिङको व्यवसायबाट पनि अवैधानिक आर्थिक क्रियाकलाप बढेर जाँदा सरकारी राजस्वमा नकारात्मक असर पर्ने देखिन्छ।
३) वित्तीय ग्राहक सुरक्षामा चुनोती
क्रिप्टोकरेन्सीको कारोबारबाट उपभोक्ता संरक्षणमा पनि असर गर्ने देखिन्छ। नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहन्छ।
४) पुँजी पलायनको नियमनमा चुनौती
क्रिप्टोकरेन्सीको प्रयोगबाट पुँजी पलायनको नियमनमा पनि असर गर्ने देखिन्छ। नेपाल जस्तो सीमित पुँजी भएको र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोकरेन्सी मार्फत पुँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको देखिन्छ। यसैगरी, नवीन प्रविधिको सहयोगमा अर्को अन्तरदेशीय रूपमा सञ्चालित नेटवर्किङ मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिने र पुँजी पलायन हुन सक्ने देखिन्छ।
५) वित्तीय स्थायित्वमा असर
क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर पर्ने देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरिएको छ।
६) मौद्रिक नीतिमा असर
क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालित हुने भएको र केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकोले यसको व्यापक प्रयोग भएमा मुद्रा प्रदायमा गणना नभई मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न सक्ने देखिन्छ।
७) विदेशी मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव पार्ने
क्रिप्टोकरेन्सीको कारोबार र लगानी तथा नेटवर्किङ व्यवसायबाट पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमे लगानी हुन सक्ने भएकोले विदेशी सञ्चितिमा समेत नक रात्मक प्रभाव पर्न सक्ने देखिन्छ।
८) युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलाप
क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्किङ मार्केटिङमा आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने देखिन्छ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको सन्देश