काठमाडौं– नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बस्नेतले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा तयार रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने बताए। बुद्धिजीविहरुले पनि महाअभियोग लगाएर सेफल्याण्डिङ गराउने कुरा राखेको उनले बताए। सांसद बस्नेतले संसद् बैठकमा विरोध जारी रहने बताए। उनले संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको विरोध स्वाभाविक रहने स्पष्ट पारे।
सांसद बस्नेतले भने, ‘एमालेले सभामुखज्यूलाई महाअभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीविहरुको सुझाव पनि छ। कार्यव्यवस्था समितिको बैठक डाकेर एमसीसीलाई सदनभित्र कसरी छलफल र प्रवेश गराउने भन्ने विषयमा सभामुखज्यूले पहल लिँदै हुनुहुन्छ भन्ने कुरा हामीले सुन्न पाएका छौँ। म सभामुखज्यूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु– विद्यमान ऐनकानुनलाई सम्मान गर्नु उहाँको धर्म हो र उहाँ प्रतिनिधिसभाको अभिभावको हिसावले भूमिका खेल्नुपर्छ। दलहरुको बीचमा पक्षपातपूर्ण व्यवहार गर्नु हुँदैन। मर्यादापालक लगाएर, बल प्रयोग गरेर सदन जबरजस्ती चलाउने र एमालेलाई कमजोर बनाउने भूमिका नखेल्न अनुरोध गर्न चाहन्छु।’
सांसद बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको बताए। उनले प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वभाविक भएको तर पार्टीको अध्यक्षले प्रधानमन्त्रीसँगै हस्ताक्षर गरेर पठाउँदा त्यसले राज्य शक्तिको दुरुपयोग भएको बताए।
सांसद बस्नेतले प्रचण्डले एमसीसीका बारेमा दोहोरो चरित्र देखाएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीतिक क्षमतामाथि प्रश्न उठेको बताए। उनले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप लगाए। सांसद बस्नेतले राज्य शक्तिको दुरुपयोग गर्नेहरुलाई कानुनी कारबाही गर्नुपर्ने बताए। उनले नेकपा एमाले एमसीसीका बारेमा स्पष्ट रहेको र सरकारको धारणापछि मात्रै पार्टीले आफ्नो धारणा राख्ने स्पष्ट पारे।
सांसद बस्नेतले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने बताए। उनले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा भने स्थानीय आवश्यक्ताका आधारमा तालमेल गर्न सक्ने बताए। सांसद बस्नेतले माधवकुमार नेपाल र प्रचण्डको दोहोरो चरित्रका बारेमा प्रधानमन्त्री पनि सचेत रहन आवश्यक रहेको औंल्याए।
सांसद बस्नेतले माओवादी केन्द्रका केही नेताहरुले कानुनी रुपमा चुनौती दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्रमा लाग्न सक्ने बताए। उनले आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र नेपालले चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोपसमेत लगाए।