काठमाडौं– ओमन जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमन जान लागेको नेपाली टोलीलाई बिदाइ गरिएको हो।
मंगलबार भर्चुअल माध्यमबाट आयोजित बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई बिदाइ गरेका हुन्। कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमबाट मंगलबार बिहान बिदाइ कार्यक्रम आयोजना गरेको हो। विश्वकप छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमन प्रस्थान गर्दैछ।
ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमन, फिलिपिन्स, क्यानडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबीच खेल हुने भएको छ। फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमन रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
छनोटअघि नेपालले ओमनमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जनकारी दिए। सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमन रहेका छन्।
खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री गहतराजले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए। नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्रीले यस पटक विश्वकपका लागि नेपाली टोली छनोट हुनेमा आफू विश्वस्त रहेको बताए।
क्यानका अध्यक्ष चतुबहादुर चन्दले विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए। साथै खेलाडीहरुलाई उच्च मनोवलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए।