बुधबार, भदौ ३, २०८३

तीनै तहको निर्वाचन एकै वर्षमा

सरकारले मिति घोषणा गरेसँगै स्थानीय निर्वाचनबारेको अन्योल अन्त्य भएको छ।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं- सरकारले मिति घोषणा गरेसँगै स्थानीय निर्वाचनबारेको अन्योल अन्त्य भएको छ। स्थानीय चुनाव आगामी वैशाख ३० गते हुने भएपछि मुलुक चुनावमा होमिएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी नयाँ सालको पहिलो महिनामै एकै चरणमा स्थानीय चुनाव गर्ने निर्णय गरेको हो। स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिक बुझाइमा देखिएको फरकपन र दुविधाका बीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ।

मुलुकमा २०६२/०६३ को जनआन्दोलनको उपलब्धिका रूपमा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन तीन चरणमा भएको थियो। ०७४ वैशाख ३१, असार १४ र असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो। सिंहदरबारको अधिकार स्थानीय सरकारमार्फत जनताकै घरदैलोमा पुर्याउने उद्देश्यसहित भएको निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएकामा १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रह्यो।

स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए। त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ अर्थात् ७४.५३ प्रतिशत मतदान भएका थियो। निर्वाचनमा राजनीतिक दलबाट ८३ हजार ८३६ पुरुष, ५६ हजार ४२७ महिला, २ तेस्रो लिङ्गी तथा स्वतन्त्रतर्फ ६ हजार ६८२ पुरुष, एक हजार ४१५ महिलासहित एक लाख ४८ हजार ३६४ उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले उल्लेख गरेको छ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिक बुझाइमा देखिएको फरकपन र दुविधाका बीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ।

मुलकमा हाल ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ तह र ६ हजार ७४३ वडा कायम छन्।

स्थानीय चुनाव घोषणासँगै निर्वाचनप्रतिको संशयमात्रै हटेको छैन, २०७९ साल ‘चुनाव वर्ष’ हुने भएको छ। वैशाखमा स्थानीय चुनाव हुने भएपछि सोही वर्षको कात्तिक वा मंसिरमा संघीय संसद् तथा प्रदेशसभाको पनि चुनाव हुनेछ। ०७४ कात्तिक र मंसिरमा संघीय संसद् र प्रदेशसभाको चुनाव भएको थियो। आगामी निर्वाचन पनि कातिक वा मंसिरमा हुने सम्भावना छ।

अहिले कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन सरकारमा छ। आगामी स्थानीय चुनावमा पनि यो गठबन्धन कायम रहने निश्चितप्रायः छ। एमालेसहित सरकार इतरका दलहरु अर्को गठबन्धन बनाउने कोसिसमा छन्।

उमेर र अन्य राजनीतिक कारणले आगामी आम निर्वाचन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका लागि अन्तिम हुनेछ।

प्रकाशित: Feb 08, 2022| 12:43 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...