जनकपुरधाम– महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको गत वर्ष भएको हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि जेला पठाइएका ३ जनालाई केही दिनअघि मात्रै उच्च अदालत जनकपुरले धरौटीमा छोड्ने आदेश दियो। गत पुस ४ गते न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुर्पंक्षमा रहेका बबलु झालाई २ लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही पाँच लाख धरौटीमा छोड्न आदेश दियो। सुरेन्द्र र राजेन्द्र दाजुभाइ हुन्।
यसअघि जिल्ला अदालत महोत्तरीले आरोपित तारादेवीलाई २ लाख तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा छोडिसकेको छ। हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत धनुषाकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा–५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनीका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको थियो।
जिल्ला अदालत महोत्तरी र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन्। प्रहरीले जानीबुझी हत्यामा संलग्न रहेकाहरुलाई बचाउनका लागि अनुसन्धानलाई नै कमजोर पारेको हरेन्द्रको छोरा केशव ठाकुरले आरोप लगाए।
मुख्य योजनाकारका रुपमा रहेका कैलाश झाकै अदालती बयानलाई आधार मान्ने हो भने कैलाशले योजनामा संलग्न रहेकाहरुको दिएका नामहरुमध्ये हरेन्द्रलाई मात्रै पुर्पक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रश्न खडा भएको अधिवक्ता देवेन्द्र ठाकुर निरालाले बताए। गत वर्ष फागुन १० गते घरबाट पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या भएको थियो। हत्याको महिना दिनपछि २०७७ चैत १२ गते पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा पुरिएको अवस्थामा शव फेला पारिएको थियो।
जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन्।
झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो। जसमध्ये ५ जनालाई धरौटीमा छोडिसकिएको छ भने बाँकी ३ जनालाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको छ।
झा दम्पतीलाई गत वर्ष फागुन १० गते राति वेपत्ता पारिएको थियो। वेपत्ता पारिएका दम्पती न जीवित फेला परे, न उनीहरुको शव महिना दिनसम्म भेटियोे। बृद्ध दम्पतीलाई प्रहरीले उद्धार नसकिरहेको बेला राष्ट्रव्यापी रुपमै दबाब परिरहेको थियो। सो घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय महोत्तरीले त गरि नै रहेको थियो, त्यसमाथि प्रदेश प्रहरी कार्यालय र सीआईबीको टोलीले समेत छुट्टै अनुसन्धान गरिरहेको थियो। सीआईबीको टोलीले अनुसन्धान शुरु गरेपछि मात्रै गत वर्ष चैत १२ गते प्रहरीले झा दम्पतीको शव गाडिएको अवस्थामा फेला पारेको थियो
प्रहरीले झा दम्पतीको शव फेला पार्नु अघि गत वर्ष चैत ५ गते सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। शव भेटिएको ३ दिनपछि सहोडवाकै तारादेवी झा र उनका छोराहरू कैलाश झा र विकास झालाई पक्राउ गरेको थियो।
प्रहरी अनुसन्धानमा देखिएका छिद्र
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरिसकेको थियो। तर हत्याको स्पष्ट कारण भने पत्ता लागेको थिएन। पछि प्रहरीको अनुसन्धानले भारतीय नागरिक हरेन्द्रले जग्गाका लागि मुसाफिर झा र गीता देवी झाको हत्या गराउन लगाएको देखाइएको थियो। तर हरेन्द्रको परिवारले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठाइरहेका छन्। जग्गाकै कारण आफ्नो बुवाले बृद्ध दम्पती गराएको प्रहरीको दावीमा कुनै आधार नरहेको हरेन्द्रको छोरा केशव दावी गर्छन्।
उनका अनुसार मुसाफिरको १४ कठ्ठा जग्गा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाको कित्ता नम्बर ४१८मा रहेको छ। सोही ठाउँमा कित्ता नम्बर ३८१, ३८२, ६६८, ७४९, ७५०, ७७९, ७८०, ७२३, ७९८, ८२१, ८२२, ९०१ र ९०२ को जग्गा मिलाएर एउटै प्लटमा २ बिघामा फैलिएको हरेन्द्रको पोखरी छ। यसका साथै हरेन्द्रले त्यहीँ १८ विघामा प्लटिंङ गरेका छन्। प्लटिङमा माटो पुर्ने काम त्यही पोखरीबाट माटो ल्याएर गर्दै आएका थिए। प्रहरीका अनुसार सो प्लटिङबाट पोखरीसम्म पुग्नका लागि बाटो बनाउने आवश्यकता हरेन्द्रको थियो।
जसका लागि मुसाफिरलाई जग्गा बेच्न दवाब दिएको र जग्गा बेच्न नमानेपछि उनको हत्या गर्न लगाइएको प्रहरीको दावी छ। यद्यपि प्रहरीको दावीमाथि प्रश्न उठाउँदै हरेन्द्रका छोरा केशवले भने, ‘मुसाफिर झाको जग्गा पोखरीभन्दा उत्तरतर्फ कित्ता नम्बर ९५ को विद्यालयको जग्गा, कित्ता नम्बर ९६को चन्देश्वर ठाकुर र कित्ता नम्बर ५५८ को फेकु मुखियाको जग्गापछि मात्रै मुसाफिरको जग्गा पर्छ। मुसाफिरभन्दा पहिले यी दुईको जग्गा लिनुपर्ने आवश्यकता थियो। मेरो बुवाले यहाँ प्लटिङको कामको प्रगति नदेखेर यहाँको काम बन्द गरेर ४ वर्ष अगाडि नै काठमाडौँमा काम शुरु गरेका थिए।’
मुसाफिर मालपोत कार्यालयका अवकाशप्राप्त कर्मचारी थिए। उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर ११ वर्ष अगाडि अवकाश प्राप्त गरेका थिए। उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गा सम्बन्धि कुनै समस्या हुँदा वा विवाद हुँदा उनलाई समाधानका लागि खोजी हुने गर्थ्यो र उनले सकभर सबैलाई सहयोग गर्ने प्रयास गर्थे।
मुसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर १ वगरामा रहेको एक मोही जग्गाको साक्षीमा बसेका थिए। गत वर्ष फागुन ११ गते सोही जग्गा विवादलाई लिएर जिल्ला अदालत महोत्तरीले फैसला सुनाउनेवाला थियो। तर फागुन १० गते राति नै उनीहरुको अपहरण भएको थियो। प्रहरीले सो जग्गासँग जोडेर कुनै अनुसन्धान नगरेको अधिवक्ता निरालाको भनाइ छ।
यसका साथै मुसाफिरको नातामा भतिजा पर्ने कैलाशले त्यहीँका ललित झालाई व्यापारका लागि भारतमा ट्रक खरिद गर्न आर्थिक सहयोग गरेका थिए। तर ललितले पछि पैसा फर्काएनन्। त्यसपछि कैलाशले मुसाफिरलाई बोलाई ललितलाई राखेर पञ्चैती गराउन लगाएका थिए। तर तिमीसँग कागजात छैन, पैसा तिमीले पाउँदैनौँ भनी फैसला सुनाएका कारणले पनि कैलाशले मुसाफिरको हत्या गर्न सक्ने तर्फ अनुसन्धान नै नगरेको हरेन्द्रको परिवारले आरोप लगाएको छ।
मृतक दम्पतीको शव एक महिनासम्म थुनामा रहेका कैलाश झाको घरमा जस्ताको ठूलो बाकसमा राखिएको थियो। तर प्रहरीले कैलाश झाका अतिरिक्त उनकी आमा तारा देवी झा, कैलाशलाई हत्या गर्नका लागि वृद्ध दम्पतीलाई बेहोस पार्न औषधी खुवाउने ठूली बुहारी अंशु झा लगायतमाथि सही ढंगले अनुसन्धान नगर्नुले प्रहरीको अनुसन्धानमाथि प्रश्न चिन्ह खडा भएको अधिवक्ता निरालाको भनाइ छ।