काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्ष पदमा हारेका कमल थापाले ‘नयाँ यात्रा’थालनी गर्ने चेतावनी दिएर पार्टीलाई फेरि विभाजनतर्फ लैजाने संकेत गरेका छन्। पूर्वअध्यक्ष थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन वटा माग पूरा गर्न अल्टिमेटम दिँदै यस्तो चेतावनी दिएका हुन्।
यद्यपि ‘नयाँ यात्रा’ बारे थापाले थप केही बताएनन्। पार्टी महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएदेखि नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थापाको यस्तो अभिव्यक्तिलाई धेरैले ‘फुटतर्फ’को संकेतका रूपमा बुझेका छन्। २०४६ सालको आन्दोलनपछि गठन भएको पूर्वपञ्चहरूको दल राप्रपा पटकपटक फुट्दै र जुट्दै आएको छ। पार्टी फेरि विभाजन भयो भने त्यसलाई आश्चर्य मान्नुपर्ने छैन। थापाले ‘नयाँ यात्रा’बारे अध्यक्ष लिङ्देनलाई पनि जानकारी गराइसकेको बताए।
बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरु हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’
काठमाडौंमा सोमबार आफू पक्षका नेताको भेला गरेर थापाले सरकारले स्थानीय चुनाव मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने अल्टिमेटम दिएका हुन्। थापाले आफूलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन नभएको दाबी गरेका छन्। उनले भने, ‘तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरु हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’
लामो समयदेखि राप्रपाको शीर्ष तहमा रहँदै आएका थापा राप्रपा नेपाल गठन गरेर अध्यक्ष बनेका थिए। पार्टी एकीकरणपछि राप्रपाका अध्यक्ष बनेका थापा महाधिवेशनमा लिङ्देनसँग पराजित भएका हुन्। महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन्। तर उनले यो आरोपको पुष्टि गर्न सकेका छैनन्। यसबारे निर्मल निवासले पनि केही प्रतिक्रिया दिएको छैन। तर थापाले अझै पनि निर्मल निवासमाथि आक्रामक अभिव्यक्ति दिन छाडेका छैनन्। उनले भने, ‘पार्टी विभाजन गर्दा राजावादी शक्ति विभाजन हुँदो रहेछ भन्ने पनि निर्मल निवासले बुझ्नुपर्दछ।’
थापाले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषयमा पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने बताउँदै आएका छन्। उनले भने, ‘सरकारले स्थानीय चुनाव घोषणा गर्नुअगाडि नै हामीले उठाएका तीन विषयमा छलफल गरेर निराकरण हुँदैन र समाधान खोज्नतर्फ लागिएन भने हामी बाध्य भएर विकल्पमा जानुपर्दछ।’
थापाले आफूले दुई दिनअघि अध्यक्ष लिङ्देनसँगको भेटमा पनि यो विषयको बारेमा कुरा उठाएको बताए। उनले भने, ‘यही कुरा तपाईंहरूलाई पनि जानकारी गराउनका लागि यो भेला आयोजना गरेको हुँ।’
पार्टी महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपका बारेमा छलफल हुनुपर्ने उनको अडान छ। उनले भने, ‘पार्टी नेतृत्वबाट यो विषय निराकरण भयो भने राप्रपामै रहेर र देशैभर संगठन विस्तारका काममा सक्रिय हुनेछु।’ यसअघि थापाले मंसिर २७ र माघ १६ मा अध्यक्ष लिङ्देनलाई पत्र पठाएरै ध्यानाकर्षण गराएका थिए। त्यसबारे पनि सुनुवाइ नभएको थापाको गुनासो छ।
‘सिंगो मुलुक गणतन्त्र भएको बेला शीरमा कफिन बाँधेर राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन। तपाईं पनि हुनुहुन्न। तपाईको योग्यता र क्षमताबाट म प्रभावित छु। तर, ढिलोचाँडो तपाईं यो प्रवृत्तिको अवश्य सिकार हुनुहुनेछ। पार्टीभित्र यस्तो अवस्था सिर्जना हुनु दूर्भाग्यपूर्ण छ,’ थापाले पत्रमा लेखेका थिए, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष छानबिन समिति बनाउनुहोस्। हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस्। भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस्। राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस्।’ तर थापाको यस्तो मागबारे पार्टीभित्र अहिलेसम्म छलफल भएको छैन।
मंसिर २७ मा औपचारिक रूपमा अध्यक्ष लिङ्देनलाई पत्र पठाएँ तर त्यो पत्र रड्डीको टोकरीमा फाल्ने काम भयो। पदाधिकारीले छलफल प्रयास गरे पनि सुनुवाइ भएन।’
थापाले भने, ‘मंसिर २७ मा औपचारिक रूपमा अध्यक्ष लिङ्देनलाई पत्र पठाएँ तर त्यो पत्र रड्डीको टोकरीमा फाल्ने काम भयो। पदाधिकारीले छलफल प्रयास गरे पनि सुनुवाइ भएन।’ थापाले पार्टी अपरिपक्व ढंगले सञ्चालन भइरहेको आरोप लगाए। उनले भने, ‘एकपक्षीय ढंगले मनोनयन भइरहेका छन्। पदाधिकारीहरू हचुवा ढंगबाट कुनै आधारविना मनोनयन गरिएको छ। यसरी पार्टी सञ्चालन उपयुक्त भएन भनेर फेरि माघ १६ मा अर्को पत्र अध्यक्षलाई लेखें। त्यसमा पनि कुनै सुनुवाइ भएको छैन।’
थापाले निर्मल निवासको हस्तक्षेपपछि राप्रपाको वैचारिक मान्यतामा प्रश्न उठेको दाबी गरेका छन्। उनले भने, ‘हामी राजनीतिभन्दा माथि राजा हुन्छ भन्दै हिँड्ने र शतप्रतिशत राजावादी भएको पार्टीमा फलानालाई जिताउनु फलानालाई हराउनु भन्ने निर्मल निवासको हस्तक्षेप रह्यो। यसबाट व्यक्तिगत रूपमा मलाई चोट र पीडा त छँदैछ। राजसंस्थाप्रति आस्था बोक्नेहरूलाई पनि पीडा छ।’
निर्मल निवासले शक्तिको प्रयोग गरेर आफ्नो राजनीति सिध्याउन खोजेको आरोप थापाको छ। महाधिवेशनभन्दा तीन साताअगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता हुँदा सौहार्दपूर्ण कुराकानी भएको तर पछि सम्बन्ध बिग्रिएको थापाको भनाइ छ। के कारणले पूर्वराजासँग सम्बन्ध बिग्रियो भन्नेबारेमा थापाले केही खुलाएनन्। थापाले आफू आफ्नो निर्वाचन क्षेत्रमा जाने र नेतृत्वबाट माग पूरा नहुने हो भने विकल्प खोजिने बताए।
राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान भने पूर्वअध्यक्ष थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गर्छन्। उनी भन्छन्, ‘थापाले पार्टी फुटाउने सोच्नुभएको जस्तो मलाई लागेको छैन। महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो। त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ। हामी पार्टी एकताका पक्षमा छौं।’
त्यसका लागि पार्टी अध्यक्ष लिङ्देनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ थियो। उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
‘पार्टीका पूर्व अध्यक्ष थापा पार्टीलाई पार्टी विभाजनको पक्षमा हुनुहुन्न। बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नुभएको छ।’
पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पूर्वअध्यक्ष थापा पार्टी विभाजनका पक्षमा नरहेको बताइन्। उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई समेटेर लैजानुपर्नेमा जोड दिइन्। महामन्त्री शाहीले भनिन्, ‘पार्टीका पूर्व अध्यक्ष थापा पार्टीलाई पार्टी विभाजनको पक्षमा हुनुहुन्न। बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नुभएको छ।’
थापाले गीताको पुस्तक छोएर कसम खाएको त्यो दिन
कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच २८ फागुन २०७६ मा औपचारिक एकता हुँदा थापाले गीताको पुस्तक समातेर लिएर पार्टी नफुटाउने कसम खाएका थिए। उनले उक्त दिन काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै राप्रपालाई नफुटाउने र फुट्न नदिने कसम खाएका थिए।
थापाले खल्तीबाट गीताको पुस्तक निकालेर भनेका थिए, ‘तपाईंहरूलाई विश्वास लागेन, मैले गीता ल्याएको छु। हामी हिन्दू धर्म चाहने सनातन धर्मका पक्षपातीहरू, यो गीतालाई हातमा राखेर भन्छु–राप्रपालाई कहिल्यै पनि फुट्न दिने छैन।’
२०४७ जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको जन्म
२०४८ माघमा राप्रपा (चन्द) र राप्रपा (थापा) पार्टी एकता भई पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ मा पार्टी थापा र चन्दको दुई समूहमा विभाजन
२०५७ फागुनमा फेरि पार्टी एकता
२०६१ सालमा सूर्यबहादुर थापाको नेतृत्वमा राष्ट्रिय जनशक्ति पार्टी गठन
२०६२ पुसमा कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन
२०६९ मा राष्ट्रिय जनशक्ति पार्टी र पशुपतिशमशेर जबरा अध्यक्ष रहेको राप्रपाबीच एकता
२०७३ राप्रपा र राप्रपा नेपालबीच एकता
२०७३ मै राप्रपा राष्ट्रवादी गठन
२०७४ मा कमल थापासँग असन्तुष्टि राख्दै पशुपतिशमशेर राणाद्वारा राप्रपा (प्रजातान्त्रिक) गठन
२०७५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकता