काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार ४० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक दोस्रो दिन सोमबार १५.६९ अंकले बढेको छ। आज नेप्से २८५१.८६ विन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेको छ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँमा खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ। आइतबार ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
सोमबार १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी लगानी उपसमूहको परिसूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै अन्य उपसमूहको परिसूचक २.४१ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ०.५८ प्रतिशत, विकास बैंकको ०.५२, व्यापारको ०.४८, वित्त ०.३६, जलविद्युतको ०.२ प्रतिशतले बढेको छ। यता, बैंकिङ उपसमूहको सबैभन्दा धेरै ०.२१ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत र लघुवित्तको ०.०८ प्रतिशतले गिरावट आएको छ।
आज करोबारमा सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंकको सेयर मूल्य ८.४२ प्रतिशतले बढेको छ। यस्तै, छ्याङ्दी हाइड्रोपावरको ६.८३ प्रतिशत र सानिमा लाइफको सेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ।