काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केही केन्द्रीय सदस्यले गठबन्धनभन्दा एमसीसी बढी महत्त्वको मुद्दा भएकाले कुनै हालतमा एमसीसी मान्य नहुने बताएका छन्।
आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षर भएको एमसीसीको जवाफपत्रपछि सत्ता गठबन्धनभित्र नयाँ तरंग सृजना भएको थियो। यही कारण बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्षबीच एमसीसी र संसद् सञ्चालनबारे वार्ता भयो। चार बजे बालुवाटारमा बोलाइएको बैठकमा सत्ता साझेदार नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल भने उपस्थित थिएनन्।
यसैबीच एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरेले गठबन्धनको प्रमुख हिस्सा भए पनि राष्ट्रियताका सवाल भएकाले एमसीसीमा सौदाबाजी नहुने बताएका हुन्। यद्यपि एकीकृत समाजवादीले आइतबार बाहिरिएको पत्रबारे आधिकारिक धारणा व्यक्त गरेको छैन।