बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा फरक ब्याजदर लागु गर्न माग

उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा फरक ब्याजदर लागु गर्न माग

आव २०७८/७९ को पहिलो चार महिनामा कूल रु ६ खर्ब ५० अर्ब २९ करोड बराबरको आयात भएको तथा गत आवमा १० प्रतिशतले घटेको आयात यस अवधिमा ६१.६ प्रतिशतले बढेको देखिन्छ। यसरी आयातमा बढी खर्च हुँदा पूँजी निर्माण हुन नसकिरहेकाले तरलतामा चाप पर्ने गरेको सिविफिनको भनाइ छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सीवीफीन)ले उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा दुई थरीको व्याजदर प्रणाली लागु गर्न सुझाव दिएको छ।

आइतबार एक प्रतिवेदन सार्वजनिक गर्दै सिविफिनले उद्योग र व्यापारिक फर्मलाई प्रवाह हुने कर्जामध्ये उद्योगलाई प्रवाह हुने कर्जालाई तुलनात्मकरूपमा कम व्याजदरको व्यवस्था गरी प्रकाशित गर्न आग्रह गरेको छ। उत्पादनमूलक क्षेत्रबाहेक अन्य क्षेत्रमा कर्जा लगानी गर्दा व्याजदर तथा अन्य सेवा शुल्क निर्धारण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई नै स्वायत्तता प्रदान गरिनुपर्ने उसको भनाइ छ। 

यस्तै आव २०७८/७९ को पहिलो चार महिनामा कूल रु ६ खर्ब ५० अर्ब २९ करोड बराबरको आयात भएको तथा गत आवमा १० प्रतिशतले घटेको आयात यस अवधिमा ६१.६ प्रतिशतले बढेको देखिन्छ। यसरी आयातमा बढी खर्च हुँदा पूँजी निर्माण हुन नसकिरहेकाले तरलतामा चाप पर्ने गरेको सिविफिनको भनाइ छ।

आयातमा थप कडाइ गरी सम्पूर्ण प्रतीतपत्रबाट आयातीत वस्तुमा शत्प्रतिशत प्रतिशत नगद मार्जिन गर्दा केही हदसम्म तरलतामा सहज स्थिति आउन सक्ने उपाय सुझाएको छ । यसले स्वदेशी वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन मिल्ने उसको ठहर छ। 'विद्युतीय सवारी साधन, चुल्हो आदि प्रयोग गर्न प्रोत्साहित गर्ने र यसले गर्दा पेट्रोलियम उत्पादनको आयातमा विदेशिने ठूलो रकम स्वदेशमै रही तरलता सहज हुने देखिन्छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ।  

आत्मनिर्भर भएका वा हुनेसक्ने सम्भावना देखिएका वस्तु तथा उत्पादनको आयातमा आवश्यकता हेरी पूर्ण वा आंशिकरूपमा बन्देज लगाउन पनि सरकारलाई आग्रह गरेको छ। नेपालको कूल गार्हस्थ्य उत्पादनमा झन्डै २५ प्रतिशत योगदान विप्रेषण आप्रवाहको रहने गरेको छ। तर, आव ०७८/७९ को पहिलो ४ महिनामा उक्त आप्रवाहमा ७.५ प्रतिशतले कमी आएको देखिन्छ। त्यसका लागि वैदेशिक रोजगारका लागि विदेशिने जनशक्तिलाई अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ। 

रेमिट्यान्स भित्र्याउने हालको योजनामा थप एक प्रतिशत व्याज दिने व्यवस्था गर्नुपर्ने, रोजगारीका लागि विदेशिने जनशक्तिलाई समेत सामाजिक सुरक्षा कोषमा सहभागी गराउने नीति ल्याउन भनिएको छ।

प्रकाशित: Feb 07, 2022| 00:40 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्