बुधबार, असार ३१, २०८३

जहाज दुर्घटनामा बाँचेका विनोदको 'सेकेन्ड लाइफ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उनी ठ्याक्कै एक महिनापछि फलोअपका लागि सिंगापुर उड्दैछन् । शरीर त अब तंग्रिँदैछ, मनको डर भगाउन उनलाई हम्मे परेको छ । यसपटक पूरै शरीरको परीक्षण गराउने सोचमा छन् । 

उनी अर्थात् विनोदराज पौडेल । कमलपोखरीस्थित बोन ट्राभल्स एन्ड टुर्सका सञ्चालक । २८ फागुन ०७४ मा ढाकाबाट नियमित उडानमा रहेको यूएस-बांग्ला एयरलाइन्सको जहाज 'बम्बार्डियर ड्यास-८' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्‍यो । ५१ यात्रुको ज्यान गयो । कहालीलाग्दो दुर्घटनाबाट बाँच्ने २० जनामध्येका हुन्, पौडेल । 

गत १ वैशाखमा मात्र उनी होशमा फर्केका थिए । तर, दुर्घटना अघिदेखिकै घटना अब उनको स्मरणमा छैनन् । आफू त्यस दुर्घटनामा परेको यकिन पनि उनले यु-ट्युब हेरेर गरेका हुन् । कतिसम्म भने उनलाई ढाकामा त्यस जहाज चढेको पनि याद छैन, अहिले । 

दुर्घटनापछि काठमाडौंस्थित ग्रान्डी अस्पतालमा नौ दिन राखेपछि थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् सिंगापुर लगिएको थियो । श्रीमती र दाइ उनको साथमा थिए । 

सिंगापुरमा उपचारका लागि एयरलाइन्सले चार करोड रूपैयाँ बेहोर्‍यो । श्रीमती र दाइको खाना खर्च करिब १३ लाख रूपैयाँ पनि एयरलाइन्सले नै बेहोर्‍यो । क्षतिपूर्तिको रकम भने अझै उनको हात लागेको छैन । पौडेल भन्छन्, 'त्यो दिए पनि ठीकै छ, नदिए पनि ठीकै । म बाँचें, यसैमा खुशी छु ।'

जहाज दुर्घटनामा परेका अधिकांश मानिस धुलोपिठो हुने गरेको उनलाई जानकारी छ । शरीरभर चोटपटक लागे पनि बाँचेकैमा उनी खुशी छन् । दुर्घटनाको ३४औं दिनमा होशमा आउँदा उनी हातखुट्टा चलाउन सक्ने अवस्थामा थिएनन् । 

होशमा आएपछि दुर्घटनाको समाचार युट्युबमा हेर्दा उनलाई भित्रभित्रै डर लाग्यो । तर, श्रीमती र दाइसँग भन्न सकेनन् । युट्युब र फेसबुकबाटै उनले आत्मबल बढाए । च्याटमा साथीभाइ र परिवारसँग कुरा गर्दै पीडा साट्न पाउँदा आफू तंग्रिन थालेको थाहै पाएनन् । 

राति अबेरसम्म मोबाइलमा व्यस्त रहन्थे, साथीहरूसँग भिडियो च्याट र कुराकानी गर्दै । राति सबै सुतिसकेका हुन्थे । उनी भने भिडियो च्याटमा बच्चाजस्तै रुँदै कुराकानी गर्थे ।

विनोदसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्


डाक्टरले पनि रुनु पर्छ अनि मनमा शान्ति आउँछ र पीडा साट्दा घाउ छिटो निको हुन्छ भनेका थिए । अस्पतालको बेडमा उनी छिट्टै भावुक हुन्थे । अरूको दुःखमा पनि आँशु नै झारिहाल्ने गरी कमजोर बनेका थिए ।

कसैले आफ्ना लागि प्रार्थना र ब्रत बसेको छु भन्दा पनि भावुक बनेर उनका आँखाबाट बलिन्द्र धारा खसिहाल्थे । 

यसबीचमा उनले धेरै सम्झिने प्रयास गरे, के भएको थियो जहाजमा । तर, उनको दिमागलाई त्यो दबाब असह्य भयो । सँगै बसेका साथीलाई सोध्न र जान्न मन लाग्थ्यो- त्यो त्रासदी कस्तो थियो ? तर, सँगैको सिटमा बसेका उनका साथी बाँचेनन् । 

सिंगापुरको अस्पतालमा बच्चाजस्तै मुख बंग्याएर धेरै पटक रोए उनी । 'आफूलाई एकदमै कमजोर र लाचार महशुस गरेको थिएँ,' उनी भन्छन् । उपचारपछि सिंगापुरबाट फर्किंदा फेरि विमान चढ्नुपथ्र्यो । उनको मनमा चिसो पस्यो, कतै फेरि पुरानै घटना दोहोरिने पो हो कि !

परिवार र देशको माया र सम्झनाले साह्रै पिरोलेको थियो, अस्पतालमा बस्दा । तर, त्यसले पनि उनलाई छिटो स्वस्थ हुन प्रेरित गर्‍यो । र, दृढ आत्मविश्वासका साथ थेरापीमा मन दिए । मातृभूमि पुग्दा अझ छिटो निको हुने विश्वासमा उनको मनमा जागृत भयो । 

थेरापिस्टहरूको मद्दत र प्रेरणाले उनमा अझै बढी विश्वास जगायो । दिनभर व्यायाम गर्थे । बच्चाहरूलाई दिनेजस्तै माया, उपचार र हेरचाह पाए, थेरापिस्टहरूबाट । 

जोड, बिजोड र गणितसँग सम्बन्धित सबै काम गर्न लगाउँथे, थेरापिस्टहरूले । तस्बिरहरू देखाएर चिन्न लगाउने, छड्के प्रश्नहरू गर्ने र कान काटिएका कारण आवाज ठूलो र सानो बनाएर सुनाउने । उनले सही सुनेका छन् कि छैनन् भन्ने जाँच गर्थे ।

कपडा कसरी लगाउने, खाटबाट कसरी झर्ने, बाथरुम कसरी प्रयोग गर्ने र नित्यकर्म गर्न सिकाइन्थ्यो । मानौं, उनी सानो बच्चा हुन् र आमा-बाबुले नित्य स्याहार गरिरहेका छन् । 

विस्तारै दिमागले काम गरेको छ वा छैन भन्ने थाहा पाउनमा चिकित्सकहरू केन्द्रित भए । सबै थाहा हुँदाहुँदै पनि यस खालका क्रियाकलापहरू किन गराएका होलाजस्तो लाग्थ्यो, उनलाई । तै पनि, चुपचाप बस्थे । किनकि, उनलाई छिटो निको भएर आफ्नै माटोमा फर्किनु थियो । 

एक महिनाको सिंगापुर बसाइपछि उनले १९ मेमा डिस्चार्ज पाउने भए । तर, हवाई टिकट नपाएकाका कारण भोलिपल्ट मात्र स्वदेश फर्किन पाए । काठमाडौंमा महिनादिनसम्म के गर्ने र के नगर्ने सूची चिकित्सकहरूले थमाएका थिए । र, महिनादिन आराम गरेर सिंगापुर फर्किन अह्राएका थिए । 

चिकित्सकले ६ सातापछि हिँड्न सुझाव दिएका थिए । तर, १० सातापछि हिँड्न सके । 

आफ्नै माटोमा टेक्न पाउँदा मन, शरीर र दिमागमा जोश र जाँगर थियो । आफन्त, परिवार, साथीभाइ र कार्यालयका सहकर्मीहरू स्वागत गर्न आएको देख्दा मनमा शान्ति र छिटो स्वस्थ हुने जोश पलाएको उनी बताउँछन् ।

शुरुका दिनमा 'वाकर' र लठ्ठीको सहायताले हिँड्ने गर्थे । केही समयपछि  विस्तारै लठ्ठी पनि छाड्ने प्रयास थालेका छन् । 

नेपाल आएर उनी सीधै ग्रान्डी अस्पतालमा भर्ना भए । किनकि, उनमा अझै आफ्नो खुट्टामा उभिने शक्ति थिएन । ग्रान्डीमा डा. विनोद बिजुक्छे र नर्सहरूले उनलाई प्रेरित गरिरहे । फेरि एक महिना ग्रान्डीमा बिताए । थेरापी र व्यायाम गरेपछि केही सन्चो भएर उनी घर फर्के । 

उनलाई लाग्छ, दुर्घटना हुनु नै लेखेको रहेछ, जसरी पनि हुन्थ्यो नै । शायद गाडीमा आएको भए पनि दुर्घटनामा पर्थें होलाजस्तो लाग्छ उनलाई । त्यतिबेला धेरैले बाँचेकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भगवान्सँग प्रार्थना गरे । ५१ जना त घटनास्थलमै भगवान्का प्यारा भइसकेका थिए । 

'मेरा दुश्मनले पनि मेरो सुरक्षाका लागि प्रार्थना गरिदिएजस्तो लाग्छ,' उनी भन्छन्, 'त्यसैले छिटै तंग्रिन सकें ।' आफूलाई एकदमै भाग्यमानी र अझ धेरै मान्छेको भीडमा भाग्यमानी ठान्छन् । 'नत्र शायद बाँच्दिनथें होला,' उनी भन्छन् । 

सपनामा तर्सिन्छन्/डराउँछन्

स्वदेश फर्किएपछि परिवार, आफन्त र साथीभाइले उनलाई बाँच्न अझ बढी प्रेरित गरे । तर, उनी घरमै झोक्राएर बस्न सकेका छैनन् । अझ बढी आत्मविश्वास जगाउन कार्यालय पुग्छन् र सहकर्मीहरूमाझ रमाउँछन् । घरमै बस्दा उनको मनमा अशान्ति हुन्छ । 

उनी भन्छन्, 'खासै डराउने मान्छे म होइन तर दुर्घटनापछि कुनै विमान अलि तलबाट उडेको देख्दा मन आत्तिन्छ ।'

उनको काम नै प्लेन चढ्ने र टिकट बेच्ने हो । त्यसरी आफैं डराए भने व्यापार/व्यवसाय चौपट हुने डर छुट्टै छ । रमाउँदै चार घण्टा लामो हवाई यात्रा गर्ने सोच बनाएका छन् । 

सिंगापुरबाट फर्किने क्रममा मन आत्तिएको थियो तर पछि आफैंलाई सामान्य महशुस गरेको उनी बताउँछन् । ट्राभल एजेन्सीको सञ्चालकका रूपमा उनले लन्डन, मलेसिया, इन्डोनेसियाको बाली र अस्ट्रेलियाको फेरो मारिसकेका थिए । ती यात्रामा उनलाई विमानमा बादल माथि-माथि उड्दा पटक्कै डर लागेको थिएन । 

'हवाई यात्राजति सुरक्षित अरू हुँदैन तर दुर्घटना कहिले र कहाँ हुन्छ भन्न सकिँदैन,' पौडेल भन्छन्, 'हिँड्दा हिँड्दै ठोक्किएर मृत्यु भएको खबर हामी सुन्छौं । जसको मृत्यु नजिक आउँछ, ऊ जसरी पनि मर्छ नै । मान्छेको भाग्यमा जहाँसम्म बाँच्न लेखेको छ, त्यतिबेलासम्मका लागि रहेछ जीवन ।' 

दुर्घटनामा परी बंगलादेशमा एमबीबीएस अध्ययनरत १४ नेपाली विद्यार्थीको पनि ज्यान गयो । देशले होनहार र भविष्यका उज्वल व्यक्तिहरू गुमाएकामा पौडेललाई नमज्जा लाग्छ, अनायासै आँखाबाट आँशु खस्छन् ।

घरी-घरी उनको मनलाई चिमोट्ने गर्छ, जहाज खस्दै गर्दा के भयो होला भन्ने कुराले । भन्छन्, 'शायद डरका कारण मेरो दिमागले त्यो पल कैद गर्न नै सकेन होला, मैले पनि अरूले जस्तै भाग्ने प्रयास गरें होला । शायद अरूको तुलनामा मैले छिटो बेल्ट खोलें कि, छाति ठोक्कियो कि, डरले बाँच्ने प्रयासमा हाम्फालें कि ?'

सिंगापुरको अस्पतालमा बस्दा उनको मन चस्किन्थ्यो, बाँकी जीवन कसरी बिताउने भन्ने चिन्ताले । आफ्ना कारणले श्रीमती र परिवारलाई कुनै दुःख नहोस् भन्ने लाग्थ्यो । श्रीमतीको सेवा-सुश्रुषा र 'पोजिटिभ एट्टिच्युड'का कारण पनि आफूलाई अगाडि बढ्ने साहस र उत्साह प्रदान गरेको ठान्छन्, उनी । 

उनी दुर्घटनामा परेको समयमा छोराको कक्षा-१२ को परीक्षा चलिरहेको थियो । सोही कारण घरको इन्टरनेट कनेक्सन काटिएको थियो । श्रीमतीलाई दुर्घटनाबारे कुनै पत्तो थिएन । छिमेकीले सुनाएका थिए, खबर । 

दुर्घटनाको खबर पाएपछि पनि उनकी श्रीमतीले आत्तिने र डराउने व्यवहार देखाइनन् । उनलाई पूर्ण विश्वास थियो, आफ्ना श्रीमान् सकुशल रहने । आफू बाँचेर अरूलाई पनि मद्दत गरे होला विनोदले भन्ने गर्थिन् सबैलाई । अस्पतालमा पनि उनकी श्रीमतीको साहस र निडरता देखेर सबै आफन्त अचम्ममा परेका थिए ।

श्रीमतीको साहस र 'पोजटिभ एट्टिच्यूड' उनका लागि अर्को ठूलो हतियार बनेको छ, छिटो निको हुन ।

सपना, भविष्य र ज्योतिषमा विश्वास गर्ने उनी भन्छन्, 'श्रीमतीले नराम्रो सपना देखेकी थिइन् रे । तर, मलाई सुनाइनन्, सुनाएको भए मैले फ्लाइट क्यान्सिल गर्थें कि ।'

त्यति ठूलो घटना हुँदा पनि पौडेलकी श्रीमतीले धैर्य गुमाइनन् । भित्रभित्रै रोइन् तर आफन्तजनमाझ दरिलो आत्मविश्वाससाथ प्रस्तुत भइन् । अस्पतालमा पनि चिटिक्क परेर हँसिलो अनुहारमा प्रकट हुन्थिन् । आफन्तजनलाई आजकाल लाग्छ, श्रीमतीकै आत्मविश्वासका कारण विनोद बाँचेका हुन् । 

कतिले उनलाई मानसिक सन्तुलन ठीक नभएकी महिला पनि भन्न भ्याए । परिवार र आफन्तलाई उनी भने भगवान्मा विश्वास र सकारात्मक सोच राख्न अनुरोध गर्थिन् । 

 

दोस्रो जीवन

पहिलेकै जस्तो तन्दुरुस्त हुन विनोदलाई अझै एक-डेढ महिना लाग्नेछ । सुन्निएका हात, खुट्टा अझै ठीक भएका छैनन् । भर्‍याङ ओर्लिन र राम्रोसँग हिँड्न गाह्रो हुन्छ । आफूमा उनी यति धेरै विश्वास गर्छन् कि केही समयमा पहिलेजस्तै स्वस्थ र फूर्तिलो बन्नेछन् ।

धेरै पैसा कमाउने, खाने र दौडधुप गर्ने मात्र जीवन होइन रहेछ भन्ने उनले बुझेका छन् । आफूबाहेक अरूका लागि पनि सोच्नेपर्छ भन्ने प्रेरणा प्राप्त गरेका छन् । कामबाहेक पनि अर्को जीवन छ, जो धेरै रंगिन र महत्वपूर्ण छजस्तो लाग्छ, उनलाई । अब गरीब र दुःखीलाई सहयोग गर्ने, कसैको चित्त नदुखाउने, सकेसम्म अरूलाई हँसाउने र आफू पनि खुशी रहने उनले सोचेका छन् ।

पहिलेभन्दा अझै बढी 'पोजिटिभ' बनेको महशुस गर्छन् उनी । साथीहरूले उनलाई जिस्क्याउने गर्छन्, 'अब झन् बढी पैसा कमाउँछौ, धनी हुन्छौ ।'

सामाजिक काममा हात हाल्ने उनको सोच छ । गाउँमा अनाथ १०/१५ जना बालबालिकालाई यसअघिदेखि नै पढाउने गरेका छन् । त्यसलाई निरन्तरता दिने सोचेका छन् । श्रीमतीमार्फत् दुई बालबालिकाको पढाइ खर्च पनि बेहोर्दै आएका छन् । 

ठूलो दुर्घटनाबाट बाँचेर फर्केको भन्दा पनि लामो घुमघाम र छुट्टिपछि घर फर्केको अनुभूति हुने गर्छ, उनलाई आजकाल । धेरै समयपछि आमा, छोरा र दाजुभाइलाई अँगालो हालेर खूब रोएको उनी सम्झिन्छन् । मुस्कुराउँदै भन्छन्, 'केही कारणले दाजुभाइमा आएको दूरी दुर्घटनाले कम गरेको छ ।'

समयले उनलाई धेरै कुरा सिकाएको छ । विश्वभन्दा पनि उनलाई आफ्नै देश पूरै घुम्ने ठूलो रहर छ । परिवारका साथमा पूर्वदेखि पश्चिमसम्म, मनाङ र मुस्ताङ पुग्ने सोच छ ।

'फेरि प्लेन चढ्छु, सकारात्मक सोच र खुशी भएर बाँकी जीवन आफूले सक्नेजति सामाजिक काममा लाग्छु,' उनी भन्छन् ।

 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।