काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।
प्रधानमन्त्री देउवाको आह्वानमा तीन शीर्ष नेता छलफलमा जुटेका हुन्। बैठकमा एमसीसी, स्थानीय तह निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
छलफलमा सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए।
प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालुवाटार पुगेका थिए।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री देउवाको धारणा एमसीसीलगायत विषयलाई अघि बढाउनुपर्छ भन्ने रहेको बताए। प्रचण्डले संसद् सुचारु गर्न र एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव गरेको उनले सुनाए। बैठकमा एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा सत्ता पक्षको धारणा स्पष्ट हुनुपर्ने बताएको महासचिव पोखरेलले बताए।
‘सरकारले संसद्मा प्रतिपक्षीको उपस्थिति चाहन्छ भने एमालेका मागहरु सम्बोधन गर्नुपर्छ भनेका छौं,’ उनले भने, ‘सदन सुचारु गर्ने जिम्मा सत्ता पक्षको हो। सदन सुचारु भयो भने हामी हाम्रो धारणा स्पष्ट पार्छौं।’
स्थानीय तहको निर्वाचन समयमै गर्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरेको पोखरेलले बताए।