काठमाडौं– अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार एक कार्यक्रमका बीच विभिन्न व्यक्तिहरुलाई सम्मान तथा महासंघको विभिन्न ओहदामा मनोनयन गरेको छ। महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पुर्याउनेहरुलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, पूर्व अध्यक्ष मनोज शमशेर राणा, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका वैज्ञानिक रिसर्चका अध्यक्ष प्राज्ञ डा. ऋषिकेश विक्रम शाह, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका एन्टीडोपिङ तथा मेडिकल कमिसनका प्रमुख डा. अजय समशेर राणा, व्यवस्थापन कमिसनका प्रमुख एवं कोरियन सफ्ट टेनिस संघका उपाध्यक्ष लि ह्युन टेक रहेका छन्।
यस्तै महासंघले लाइफटाइम एचिभमेन्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ कोनलाई सम्मान गरेको छ। सम्मान कार्यक्रममा महासंघका अध्यक्ष विनयविक्रम शाहले विभिन्न व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन पनि गरेका छन्। नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तर्राष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटीको अध्यक्षमा र सफ्ट टेनिस संघका सदस्य आनन्द प्रसाद श्रेष्ठलाई सदस्यमा चयन गरेका छन्।
यस्तै पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा संघका पूर्व सदस्य एसएसपी अशोक सिंह र पूर्व अन्तर्राष्ट्रिय खेलाडी, संघकी सदस्य एवं प्रशिक्षक निरा कायस्थलाई महासंघको निर्देशकमा मनोनयन गरिएको छ।
संघका पूर्व सदस्य एवं प्रशिक्षक किरणकुमार खड्कालाई महासंघको निर्देशक र यूएसएका लागि महासंघको संयोजकमा, संघका कोषाध्यक्ष संजय नेपाललाई महासंघका निर्देशक तथा अष्ट्रेलिया र न्यूजिल्याण्डको संयोजकमा, नारायण प्रसाद जोशीलाई महासंघको निर्देशक एवं जापानको संयोजकमा तथा सहप्राध्यापक सिद्धार्थराज पाण्डेलाई निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन गरिएको छ।