काठमाडौं– एमसीसी संसद्बाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार महिनाअघि गरेको प्रतिबद्धता पत्र सार्वजनिक भएपछि राजनीति तरंगित भएको छ। सो पत्रबारे स्मरण गराउँदै अमेरिकास्थित एमसीसी मुख्यालयले शुक्रबार ‘डेडलाइन’सहित नेपाल सरकारलाई पत्र पठाएको पनि खुलेको छ।
अमेरिकाले नेपाललाई आगामी फागुन १६ गते (२८ फेब्रुअरी) भित्र एमसीसी अनुमोदन गरिसक्न समयसीमा दिएको छ।
गएको सेप्टेम्बर २९ मा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले ५ महिनाभित्र संसद्बाट एमसीसी अनुमोदन गरिसक्ने प्रतिवद्धता जनाएको स्मरण गराउँदै अमेरिकाले अस्ति शुक्रबार पत्र पठाएको हो।
जानकार स्रोतका अनुसार शुक्रबार नै उक्त पत्र प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र एमसीसी परियोजना अघि बढाउन गठन गरिएको एमसीए नेपालका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी समक्ष पुगिसकेको छ। पत्रमा नेपालले प्रतिवद्धता जनाएको समय नजिकिएको उल्लेख गर्दै चाँडो एमसीसी अनुमोदन गर्न भनिएको छ।
देउवा र प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धतापत्र गएको सेप्टेम्बरमै पठाएका थिए। पत्रमा फेब्रुअरी २८ अर्थात् आगामी फागुन १६ गतेभित्रै एमसीसी पारित गराउने उल्लेख छ।
आइतबार प्रतिवद्धतापत्र सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाले सक्रियता बढाएका छन्। देउवाले एमसीसीबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो निवास बालुवाटार बोलाएका छन्।
देउवा र ओलीबीच आज अपराह्न भेट हुन लागेको बताइएको छ। छलफलमा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने बालुवाटार स्रोतले जनाएको छ।
उता, एमसीसीबारे धारणा बनाउन माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ। एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी छलफलमा जुटेको हो । पार्टीमा छलफल गरी धारणा बनाएपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार जाने बताइएको छ।
आज बिहान प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी पनि गरेका थिए। त्यसक्रममा प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाएका थिए जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएको बताइएको छ।