काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन्।
देउवा र ओलीबीच आज अपराह्न भेट हुन लागेको बताइएको छ। भेट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ। प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार जान लागेका हुन्। आजको भेटमा खासगरी एमसीसी र स्थानीय तहको चुनावबारे छलफल हुने बताइएको छ।
आजमात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी संसद्बाट पारित गराउन चार महिनाअघि नै प्रतिबद्धता व्यक्त गरेको पत्र सार्वजनिक भएको थियो।
देउवा र प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धतापत्र गएको सेप्टेम्बरमै पठाएका थिए। पत्रमा फेब्रुअरी २८ अर्थात् आगामी फागुन १६ गतेभित्रै एमसीसी पारित गराउने उल्लेख छ। सोही पत्रबारे स्मरण गराउँदै गएको शुक्रबार एमसीसीले सरकारलाई पत्र पठाएको छ।
शुक्रबार नै उक्त पत्र प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र एमसीसी परियोजना अघि बढाउन गठन गरिएको एमसीए नेपालका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी समक्ष पुगिसकेको छ। पत्रमा नेपालले प्रतिवद्धता जनाएको समय नजिकिएको उल्लेख गर्दै चाँडो एमसीसी अनुमोदन गर्न भनिएको छ।
देउवा र प्रचण्डले पठाएको पत्रमा एमसीसी पारित गर्न केही महिनाको समय मागिएको छ। एमसीसी पारित गराउने प्रतिवद्धतासँगै देउवा र प्रचण्डले ६ बुँदे रणनीति पनि बुझाएका छन्।