काठमाडौं- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सधैंभरि एमसीसीमा अल्झेर बस्न नहुने बताएका छन्।
'एमसीसी परियोजना सडक र ऊर्जामा लगानी हुने हो। कोसी, गण्डकी, कर्णालीमा थुप्रै हाइड्रोपावर सम्पन्न हुने स्थितिमा छन्। हामीले ट्रान्समिसन लाइन बनाएर भारत, बंगलादेशमा निर्यात नगरी हुन्न। नत्र त्यसको उपयोग गर्न सक्दैनौं,' एउटा रेडियो बहसमा उनले भने। उनले एमसीसीमा अल्झेर बस्न नहुनेसमेत बताएका छन्। 'सहमति गरेर पास गरौं या त एमसीसी खारेज गरौं,' उनले भने।
एमसीसी पक्ष र विपक्षको कुरा नभएकाले चाडो टुंग्याउनु पर्ने उनले बताए। 'हामी अहिले सत्ताको पोजिसनमा छैनौं । तावा ताते रोटी पाक्छ, बिँड ताते हात पोल्छ। हामीले त संसद् आएपछि पास वा फेल गर्ने हो। तर, गठबन्धन दल नै झगडा गरिरहेका छन्। पहिले सरकारले पोजिसन क्लियर गरोस् अनि हामी एउटा निष्कर्ष दिन्छौं,' उनले भने।
संसद् खोल्ने-नखोल्ने कुरा सरकारको हातमा रहेको समेत उनले जिकिर गरेका छन्। उनले सभामुखले स्वच्छ र निष्पक्ष भूमिका खेल्न नसकेको भन्दै आपत्ति समेत रहेका छन्।
'सभामुखले एउटा अमुक नेताको कार्यकर्ता जस्तो भूमिका खेलिरहनुभएको छ। सरकारले ल्याउन लागेको प्रस्तावका कारण संसद् बन्द गरेर हिँड्नुभयो। अब सत्तारुढ दलले नै महाअभियोगको प्रस्ताव ल्यायो भने हामी त्यसको पक्षमा उभिन्छौं,' उनले भने।