बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले भन्यो– विद्युतीय कारोबार गर्दा सजग बनौं [सूचनासहित]

राष्ट्र बैंकले भन्यो– विद्युतीय कारोबार गर्दा सजग बनौं [सूचनासहित]

नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणबाट कारोबार गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणबाट कारोबार गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ। विद्युतीय उपकरणका माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति/'समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई सात बुँदे आग्रह गरेको हो।

बैंकले सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचना लिने जस्ता अवैध काम भइरहेको राष्ट्र बैंकले जनाएको छ। 

बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनामा उल्लेख छ, ‘ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ।’

अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी तथा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन, मोबाइल तथा अन्य डिभाइस एवम् ब्एए का पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्न र पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्न बैंकले आग्रह गरेको छ।

कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एप्सको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शंकास्पद रुपमा लिनुपर्ने बैंकको आग्रह छ। 

सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरेनगरेको ब्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउन पनि राष्ट्र बैंकको आग्रह छ।

अनावश्यक तथा अनधिकृत एप्स आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न बैंकको आग्रह छ। बैंकको सूचनामा उल्लेख छ, ‘यसरी अनधिकृत एप्स डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचना आपराधिक समूहले पत्ता लगाउन सक्छन्।’ 

कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एप्सको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शंकास्पद रुपमा लिनुपर्ने बैंकको आग्रह छ। 

रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक नरहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ। कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो कि हैन सुनिश्चित गर्न बैंकले आग्रह गरेको छ। 

विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ। 


प्रकाशित: Feb 04, 2022| 15:05 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्