काठमाडौं- मोरङ र ललितपुरमा तीन जना व्यवसायीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट एक जना र मोरङबाट तीन जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
'काठमाडौंबाट सिरहाका अनिलकुमार मण्डललाई पक्राउ गरिएको छ,' महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले भने।
उनले नै दिएको सूचनाका आधारमा ललितपुरको गोदावारीमा तेह्रथुमका मोहनप्रसाद लिम्बूको शव भेटिएको हो। अहिले प्रहरीले गाडेको अवस्थामा भेटिएको लिम्बूको शव उत्खनन गरिरहेको छ।
मोरङबाट पक्राउ परेका दुई जनाको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
मोरङ जिल्ला धनपालथान गाउँपालिका-७ को बोर्डिङ टोल नजिकै बुधबार एक पुरुषको शव फेला परेको थियो। उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको एकदिनपछि त्यहाँबाट ३० मिटरको दुरीमा अर्को शव भेटिएको थियो।
बुधबार शव भेटिएका व्यक्ति सुनसरीको धरान-३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ हुन्।
बिहीबार फेला परेको शव सप्तरीको शम्भुनाथ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने शम्भु चौधरीको थियो। उनीहरू तीनै जना मोरङ र झापामा जग्गा कारोबार गर्दै आएका थिए।
हत्याको कारण आर्थिक लेनदेन नै हुन सक्ने पनि प्रहरीले आकलन गरेको छ। मृतकका आफन्तको बयानले पनि त्यही संकेत गरेको मोरङ प्रहरीको भनाइ छ।
श्रेष्ठ, चौधरी र लिम्बू साथीसाथी हुन्। तीनै जना मंसिरको सुरुवाततिर ‘व्यवहार मिलाउन’भन्दै भक्तपुरबाट पूर्वतिर लागेका थिए।
हत्या कसरी भयो भन्नेबारे पनि प्रहरी अहिलेसम्म यकिन भएको छैन। श्रेष्ठ र चौधरीको पोस्टमार्टम रिपोर्ट आए पनि अभियुक्तसम्म नपुगिन्जेल त्यसलाई प्रहरीले सार्वजनिक गरेको छैन।