बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवालाई भेटेर महन्थले भने - एमसीसी संसद्‌मा ल्याउनुस्, त्यहीबाट टुंग्याऔं

प्रधानमन्त्री देउवालाई भेटेर महन्थले भने - एमसीसी संसद्‌मा ल्याउनुस्, त्यहीबाट टुंग्याऔं

प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसद्‌मा ल्याएर छिनोफानो गरी टुंग्याउन आग्रह गरेका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसद्‌मा ल्याएर छिनोफानो गरी टुंग्याउन आग्रह गरेका छन्। 

लोसपा अध्यक्ष ठाकुरले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर एमसीसी सम्झौतालाई संसद्‌मा ल्याउन आग्रह गरेका हुन्। एमसीसीका विषयमा पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संशोधनको माग गरेका छन्। 

प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरेका अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा चलाइएका मुद्दा फिर्ता र टीकापुर हत्याकाण्डका मुख्य दोषी एवम् निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नका लागि पहल गरिदिनसमेत आग्रह गरेको प्रधामन्त्री देउवाको सचिवालयले जनाएको छ। 

सचिवालय स्रोतले भन्‍यो, 'दिउँसो लोसपा अध्यक्ष महन्थ ठाकुरजीले प्रधानमन्त्री देउवाजीलाई भेट गर्नु भएको हो। भेटमा मधेस आन्दोलनका मुद्दा फिर्ता र एमसीसीको विषयमा कुराकानी भएको छ।'

मधेश आन्दोलनका मुद्दाका विषयमा प्रधानमन्त्री देउवाले गठबन्धनमा आवश्यक छलफल गरेर आवश्यक निर्णय गर्ने जवाफ दिएको बताइएको छ। 

प्रकाशित: Feb 03, 2022| 18:06 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...