काठमाडौं– प्रहरीले अवैध सुन र मोबाइलसहित तीनजनालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
हिमालय एयरको विमानमा दुबईबाट आएका दुईजना र सारजहाँबाट आएका एकजनालाई प्रहरीले लुकाईछिपाई ल्याएको एक किलो १२५ ग्राम अवैध सुन र आईफोन १३ प्रो म्याक्स ५ थानसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रौतहटको गौर नपा–१० सोबगाढा बस्ने ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुरको मनहरी–७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ घर भएका ३९ वर्षीय दावा छिरिङ शेर्पा छन्। शाह र परियार दुबईबाट तथा शेर्पा साउदी अरबको सारजहाँबाट नेपाल आएका थिए।
प्रहरीले साहको साथबाट सुनको बेरुवा औंठी र सिक्री एक–एक थान तथा आईफोन १३ प्रो म्याक्स ४ थान बरामद गरेको छ। सुनको अन्दाजी मूल्य ३ लाख ९५ हजार र ४ वटा आईफोनको ६ लाख ४० हजार मूल्य पर्ने प्रहरीले जनाएको छ।
त्यस्तै, परियारको साथबाट ५० ग्राम तौलको सुनको बेरुवा औंठी एक थान र आईफोन १३ प्रो म्याक्स एक थान बरामद गरिएको छ। सुनको ३ लाख ९५ हजार र आईफोनको एक लाख ६० हजार मूल्य पर्ने प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकका शेर्पा एक्लैले एक किलो ५५ ग्राम सुन बेलनाकार बनाएर अर्धठोस सुनको तीन थान गुद्द्वारमा लुकाईछिपाई ल्याएका थिए। उक्त सुनको मूल्य ८३ लाख ३९ हजार पर्ने प्रहरीले जनाएको छ।
विमानस्थल प्रहरीका अनुसार उनीहरु बुधबार काठमाडौं आएका थिए। उनीहरुको गतिविधि शंकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।