काठमाडौं- देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकमा ना६ख ८४२५ नम्बरको बस र बागमती प्रदेश ०२-०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बुधबार दिउँसो एक जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका-७ का ३७ वर्षीय शिव प्रसाद सुबेदी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखा सैलुङ गाउँपालिका-५ मातादेउराली बस्ने ४६ वर्षीय थनक प्रसाद दुलाललाई थप उपचारको लागि चुरेहील अस्पताल पठाइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै लमजुङको राईनास नगरपालिका-६ घामेको भिरस्थित सडकमा ग१त ४४४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अमृत सिलवालको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नुवाकोटको किस्पाङ गाउँपालिका-५ नयाँपुलस्थित सडकमा बा३ख ८५०० नम्बरको टिपर र बा७१प ४६७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बुधबार दिउँसो मोटरसाइकल चालक सोही गाउँपालिका-५ मानेगाउँ बस्ने ३२ वर्षीय यम बहादुर तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी नुवाकोट लिखु गाउँपालिका-३ डुडेस्थित सडकमा बा१५च ७४०७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम शरण जर्घा मगरको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उदयपुर, कटारी नगरपालिका-३ हडियास्थित चौरमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही नगरपालिका देबिधाप बस्ने ७० वर्षीय बिनिलाल दनुवारको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी कार्य गरिरहेको छ।
बर्दिया, बासगढी नगरपालिका-३ पूर्व-पश्चिम राजमार्गमा कालिकोटबाट महेन्द्रनगरतर्फ जादै गरेको ना५ख ५३८२ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार २० जना पुरुष र १० जना महिला गरी ३५ जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ। उनीहरूको स्थानीय कौशिल्या अस्पताल बासगढिमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।