काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई आफ्नो न्यूनतम साझा कार्यक्रममा नराखेको सत्तारुढ गठबन्धनले अहिले अनावश्यक हल्ला गरेको टिप्पणी गरेका छन्।
'एमसीसीको अवस्था बाहिर हल्ला गरेजस्तो देखिएन गठबन्धनमा। उनीहरुको न्यूनतम साझा कार्यक्रममा एमसीसी नै छैन। नक्कली हल्ला चलाएर हिँडेका छन्,' ओलीले भने।
यदि गठबन्धन सरकारले संसदमा निर्णयार्थ प्रस्तुत गर्न लैजान्छ भने सभामुखले एमसीसी रोक्न नमिल्ने उनले तर्क गरे। आफ्नो पालामा एमसीसी अघि बढाउन खोज्दा सभामुख अग्नि सापकोटाले रोकेको संकेतसमेत ओलीले गरेका छन्।
ओलीले भने, 'एमसीसीलाई सभामुखले कानुनविपरीत रोक्ने काम गरेका छन्। संसदले पास गर्छ या फेल गर्छ, त्यो त्यहीँको कुरा हो। सरकारले अघि बढाएपछि त्यसलाई सभामुखले रोक्न मिल्दैन। तर अहिले सरकारको निर्णयबारे सभामुखले असंवैधानिक रुपमा फैसला गर्छन्। सभामुख असंवैधानिक बाटोमा छन्। आफ्नो कानुनी हैसियताभन्दा बाहिर र पदीय मर्यादा विपरीतका काममा लागेका छन्।'
फरक प्रसंगमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्नुपर्ने बताए। ओलीले सत्ता गठबन्धनलाई देशको माया नभएको भन्दै संविधान कार्यान्वयन गर्न छोडेर सत्ता स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाए।
ओली बुधबार पार्टीको केन्द्रीय सचिवालय बैठकमा बोल्दै थिए।