बुधबार, असोज १४, २०८३

अझै कार्यान्वयनमा आएन ‘फ्री भिसा फ्री टिकट’

परियोजनाको एक अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए। ‘फ्री भिसा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ। विनाप्रमाण धेरै रकम दिएर विदेश जानेको सङ्ख्या अहिलेसम्म घट्न नसकेको बताइएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ।

विशेष गरी रोजगारीका  खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको पीडितले गुनासो गरेका थिए। सुरक्षित आप्रवासन परियोजनाद्वारा  आयोजित कार्यक्रमका  सहभागीले  अझै पनि वैदेशिक रोजगारीमा जाने युवाले दुःख र वढी शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाएका थिए।  

परियोजनाको एक अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए। ‘फ्री भिसा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ। विनाप्रमाण धेरै रकम दिएर विदेश जानेको सङ्ख्या अहिलेसम्म घट्न नसकेको बताइएको छ। 

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले वैदेशिक रोजगारीमा जान चाहनेले नै बढी सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो। रोजगारीमा जानेले बढी रकम दिएर कम मूल्यको बिल लिने, प्रमाण नै नष्ट गर्ने जस्ता गतिविधि गर्नाले अन्याय पर्दा क्षतिपूर्ति लिनसमेत कठिन हुने गरेको पाइएको छ।

नगरपालिकाभित्र वैदेशिक रोजगारीसम्बन्धी गरिएको अध्ययनअनुसार रोजगारीमा गएका विवाहित महिलाका श्रीमान्ले अर्को विवाह गर्ने क्रम बढेको छ। सो परियोजनाले गरेको अध्ययनअनुसार विदेश गएका १३६ महिलामध्ये २६ जना अर्थात् १३ प्रतिशत यहाँ रहेका पुरुषले अर्को विवाह गरेको बताइएको छ। तर विदेश गएका ८७९  विवाहित पुरुषमध्ये यहाँ रहेका २२  महिलाले मात्र अर्को विवाह गरेको तथ्यांक रहेको कार्यक्रम संयोजक ईश्वरी तामाङले जानकारी दिए। 

विभिन्‍न अध्ययनले समाजमा वास्तविकताभन्दा फरक प्रकृतिको हल्ला हुँदा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमती समस्या पर्ने गरेको समेत कार्यक्रममा जानकारी दिइयो। 

परियोजनाका झापा, पाँचथर र इलामका कार्यक्रम अधिकृत रामुकमार कर्णका अनुसार भ्रम चिर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए। उनले सूचना तथा समाचार प्रसारण प्रकाशन गर्दा सञ्चारकर्मीले अरू बढी संवेदनशीलताका क्षेत्रमा समेत हेर्नुपर्ने बताएका छन्। 

आप्रवासी कामदारको सकारात्मक फाइदा धेरै भए पनि नकारात्मक कुराहरु बाहिर आउने भएकाले सामाजिक समस्या आउने गरेको परियोजना संयोजक  तामाङले बताए। इलाम, सूर्योदय, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारीमा जानपूर्व लिनुपर्ने आवश्यक सूचना प्रदान गर्ने, सीप सिकेर मात्र विदेश जान सुझाउने गरेको छ। भरसक स्वदेशमा नै आयआर्जनको बाटो खोज्न प्रोत्साहित गर्ने परियोजनाको लक्ष्य छ। 

प्रकाशित: Feb 02, 2022| 21:15 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्