काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन्।
बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका हुन्। सत्तामा रहेका नेताहरुले एमसीसीमार्फत भूराजनीतिक द्वन्द निम्त्याइरहेको उनले आरोप लगाए।
एमसीसी एउटा विकास परियोजना मात्रै भएको उनले उल्लेख गरे। उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे। उनले भने, ‘सत्तामा रहेका नेताहरु जानी जानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ। एमसीसी परियोजना एउटा विकास परियोजना हो। त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय हो। तर त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ, भर्चुअल मिटिङहरु भइरहेका छन्। विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन्।’
उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने पनि उनले स्पष्ट पारे। एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको वैशाखी टेक्नुपर्ने अवस्था नरहेको उनले जिकिर गरे।