काठमाडौं– एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन्।
कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो। आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुन्।
यस योजनामा ग्राहकले कर सहित रु १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक रु ३० मा लिन सक्छन्। यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउँछन्।
ग्राहकले सजिलैसँग एष्ट्रिक्स१७१२३ह्यास डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन्। यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्छ।
ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ। कर सहित रु २२ पाइने १ घण्टाको डेटा प्याक ग्राहकहरुले पहिलादेखि नै मन पराउँदै आएको कम्पनीको दाबी छ।
यी टाइम प्याकहरूको समयवधि ग्राहकले प्याक सुचार गरेको समयको आधारमा गणना गरिन्छ। उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजे सम्म मान्य हुन्छ। आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकता अनुसार, ग्राहकहरूले यी प्याकहरू जति पटक लिन सक्छन्।