काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको प्राधिकरण महानिर्देशक पदमा प्रधिकरणमै ११औं तहमा कार्यरत इन्जिनियर अधिकारीलाई नियुक्त गरेको हो।
उच्च प्रशासनिक स्रोतले दिएको जानकारी अनुसार अधिकारीलाई बिहीबार महानिर्देशकमा नियुक्तिको पत्र थमाइने छ।
राष्ट्रिय गौरवका आयोजना तथा एरोड्रम ईञ्जिनियरिङ विभाग प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका अधिकार भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको अगुवाइ गर्ने पात्र हुन्।
यसअघिका महानिर्देशक राजेन्द्रकुमार क्षेत्रीले ५८ वर्षको उमेरहदका कारण पुस २५ गते अनिवार्य अवकाश पाएपछि प्राधिकरणमा प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो।
२०६४ सालमा सिभिल इञ्जिनियरका रुपमा सातौँ तहबाट सेवा प्रवेश गरेका अधिकारीले आठौँ र खुला प्रतिस्पर्धाबाट ११औँ तहमा एकैपटक नाम निकालेका थिए।
सेवा प्रदायक र नियामकका रुपमा प्राधिकरणको भूमिका विभाजनका लागि सुरु भएको प्रक्रिया निष्कर्षमा पुर्याउन अधिकारीका अघि चुनौती छ। यो विषयमा कर्मचारीमा असन्तुष्टि समेत रहेकाले त्यसलाई पनि सम्बोधन गर्नुपर्नेछ। निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्नु, नेपाललाई युरोपेली यनियनको कालोसूचीबाट हटाउनुलगायतका चुनौतीहरूले अधिकारीको परीक्षण गर्नेछन्।