काठमाडौं- महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ। मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने गरी महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने विश्वास व्यक्त गरिन्। पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउने उनको भनाइ थियो।
मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीहरुसँग आग्रह गरिन्।
‘नेपालको समग्र विकास र खासगरी पूर्वाधार विकासको कुरा गर्दा भारत सरकार सधैँ नेपालको प्रमुख साझेदारको रुपमा रही आएको छ। लामो समय अघिदेखि नेपालका थुप्रै आयोजना भारतको सहयोगमा सम्पन्न हुँदै आएका छन्,' मन्त्री यादवले भनिन्, 'हालका दिनमा पनि सडक सुधार तथा विकासका कार्यक्रम भारत सरकारको सहयोगमा सञ्चालित छन्। आज हस्ताक्षर भएको महाकाली नदीमा बन्ने पुलले त्यस भेगका जनताको आवश्यक्ता पूरा गर्नेछ। नेपाल-भारत सम्बन्धलाई अझै उचाईमा पुर्याउ विश्वास लिएकी छु।'
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौताले आफूहरूलाई उत्साहित बनाएको बताए।
‘नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक छ। भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरु भइरहेका छन्। उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनको सहजता मात्रै हुँदैन यसले नेपाल र भारतको संस्कृति, संस्कारलाई पनि जोड्नेछ।’
राजदूत क्वात्राले नेपाल र भारत सरकारको तर्फबाट महाकाली नदीमा बनाइने पुलको काम दुवै देशको सहकार्यमा समयमा नै सम्पन्न हुने विश्वास लिएको पनि बताए।