काठमाडौं- एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै पनि 'गोप्य' अथवा लुकाइएको दस्तावेज नभएको प्रष्ट पारेको छ।
अर्थ मन्त्रालयअन्तर्गतको एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सम्पूर्ण दस्तावेजहरू आफ्नो वेबसाइट सार्वजनिक गरिएकाले त्यस्ता आरोप निराधार भएको स्पष्ट पारेको हो।
केही दिनयता सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले एमसीसी सम्बन्धी लुकाइएका केही सम्झौताहरु आफूहरुले फेला पारेको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता दिएका थिए।
उक्त समाचारहरुपछि त्यसको खण्डन गर्दै एमसीए नेपालले कुनै फाइल गोप्य राखिनु वा लुकाउनु पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने भएकोले त्यस्ता लुकाइएका कुनै पनि दस्तावेज नभएको प्रष्ट पारेको हो।
एमसीए नेपालले भनेको छ, 'त्यस्ता आरोप लगाउनु आफ्नै देशका निकायमाथि प्रश्न उठाउनुसमेत भएको र यस्ता गलत सूचनामा विश्वास नगर्न आग्रह गर्दछौं।'
यता एमाले नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री भीम रावलले पनि डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले एमसीसीसम्बन्धी फाइल गोप्य राखेको आरोप लगाएका थिए।
उता डा. भट्टराईले भने रावलको आरोप निराधार रहेको भन्दै उनको विद्यावारिधि उपाधिमाथि नै प्रश्न उठाएपछि बहस सुरु भएको छ। दुवै नेताले आफ्नो उपाधिलाई अब्बल दाबी गरेका छन् भने अर्का नेताले गरेको उपाधिलाई नक्कली हुन सक्ने भन्दै शंका व्यक्त गरेका छन्।