काठमाडौं– पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष २०७८–०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन्।
खर्च गर्नुहोस् भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने उनले बताए। ‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारम्बार यस्तो बैठक गर्नु आवश्यक होइन, राम्रो कुरा होइन,’ अर्थमन्त्री शर्माले भने, ‘समस्याको सहजीकरण गर्नु ठिकै हो। तर खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार होइन। यसको अन्त्य गर्नुपर्छ।’
मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए। यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने–नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिए। जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्दै उनले खर्च गर्न सकिने तथा नसकिने योजनाहरूको सूची बनाउन निर्देशन दिएका हुन्।
खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उनले भनेका हुन्। त्यस्तै उनले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिए। पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरूलाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिए।