काठमाडौं- दुवै मिर्गौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा संकलित तीन लाख ७७ हजार पाँचसय ९० रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मिर्गौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको थियो।
गुल्मी जिल्लाको ईस्मा वडा नं ४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले स्वस्फुर्त रुपमा सहयोग रकम संकलन गरेका हुन्।
दुबै मिर्गौलाले काम गर्न छोडेपछि नेपाल प्रहरी लगायतका अस्पतालहरुमा डाइलेसिस एव उपचारार्थ खत्रीको स्वास्थ्य अवस्था खस्कदै गएको छ। आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागी हामीले आर्थिक सहयोगको सुरुवात गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जोशीले बताए।
उनले जीवन बचाउने यस्तो पुण्यकार्यको लागि संकलित सम्पुर्ण रकम प्रहरी जवान खत्रीको श्रीमति ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको समेत जानकारी दिए।