आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • १६ वर्षे किशोरी निकिता, जो एउटा हात्तीको एक्लोपन हटाउन लागिपरेकी छन्

१६ वर्षे किशोरी निकिता, जो एउटा हात्तीको एक्लोपन हटाउन लागिपरेकी छन्

निकिता युथ फर एनिमल्स नामक गैरसरकारी संस्थाकी संस्थापक हुन्। निकिताको भनाइ छ– शंकर वर्षौंदेखि एक्लो छ। दिल्लीको चिडियाघरबाट निकालेर उसलाई अफ्रिकाकै जंगलमा लगिनुपर्छ, जहाँ उसका अन्य हात्ती साथी हुनेछन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– २४ वर्षअघि शंकर नामको एउटा नौजवान हात्तीलाई हवाईजहाजमा हालेर अफ्रिकाको जंगलबाट भारत ल्याइयो। शंकरलाई राजधानी दिल्लीको एउटा चिडियाघरमा राखियो।

National life

२४ वर्षपछि शंकरलाई अफ्रिका नै फर्काउनुपर्छ भन्दै अदालतमा मुद्दा दायर भएको छ। १६ वर्षीया निकिता धवनले दिल्ली हाइ कोर्टमा मुद्दा दायर गरेकी हुन्। निकिता युथ फर एनिमल्स नामक गैरसरकारी संस्थाकी संस्थापक हुन्। निकिताको भनाइ छ– शंकर वर्षौंदेखि एक्लो छ। दिल्लीको चिडियाघरबाट निकालेर उसलाई अफ्रिकाकै जंगलमा लगिनुपर्छ, जहाँ उसका अन्य हात्ती साथी हुनेछन्।

जनावरमाथि नराम्रो व्यवहार गरेको आरोप पनि उक्त संस्थाले चिडियाखाना प्रशासनलाई लगाएको छ। निकिता भन्छिन्, ‘शंकरको माध्यमबाट म देशका अन्य चिडियाखानाहरुमा राखिएका हात्तीको खराब स्थितिबारे जागरुकता जगाउन चाहन्छु। भारतीय संस्कृतिमा हात्तीलाई उच्च दर्जा दिइएको छ। तर हात्तीको स्याहारसुसारमा चाहिँ लापरबाही गरिन्छ। भारतीय चिडियाखानामा अफ्रिकाका दुई हात्ती छन्– एउटा दिल्लीमा शंकर र अर्को कर्नाटकको मैसुर चिडियाखानामा।

शंकर पहिले एक्लो थिएन। सन् १९९८ मा बोम्बई नामको हात्ती पनि भारत ल्याइएको थियो। यी दुई अफ्रिकी नौजवान हात्ती पंखाजस्ता ठूला कानका कारण अन्य एसियाली हात्तीभन्दा फरक देखिन्थे। तत्कालीन भारतीय राष्ट्रपति शंकर दयाल शर्मालाई अफ्रिकी मुलुक जिम्बाब्वेले यी दुई हात्ती उपहार दिएको थियो। 

Laxmi sunrise bank
kumari
अफ्रिकाको जंगलबाट भारतमा ल्याइएको बोम्बई नामको हात्ती।

चिडियाखानाका अधिकारीहरुलाई पनि थाहा छैन कि ती हात्ती अफ्रिकाको कुन ठाउँबाट ल्याइएको हो। केही समयसम्म शंकर र बोम्बई दिल्लीको चिडियाखानामा खुसी थिए। तर, सन् २००५ मा अचानक बोम्बईको मृत्यु भयो। निकिता भन्छिन्, ‘बोम्बईको मृत्यु भएपछि शंकर एक्लो भयो। २६ वर्षे शंकरलाई सुनसान इलाकामा मेटलबाट बनेको ठूलो खोरमा राखिएको छ। गएको सेप्टेम्बरमा शंकरलाई देखेपछि निकिताले उसलाई अफ्रिका फिर्ता लैजानका लागि लडाइँ लड्ने निर्णय गरिन्। निकिता भन्छिन्, ‘हामीलाई उसको हालत निकै खराब लाग्यो। ऊ निकै दुःखी देखिन्थ्यो।’ चिडियाखानामा अन्य दुई एसियाली हात्ती पनि छन्– लक्ष्मी र हीरा। तर उनीहरुलाई शंकरबाट टाढा राखिएको छ।

निकिता युथ फर एनिमल्स नामक गैरसरकारी संस्थाकी संस्थापक हुन्। निकिताको भनाइ छ– शंकर वर्षौंदेखि एक्लो छ। दिल्लीको चिडियाघरबाट निकालेर उसलाई अफ्रिकाकै जंगलमा लगिनुपर्छ, जहाँ उसका अन्य हात्ती साथी हुनेछन्।

चिडियाखाना प्रशासनको भनाइ छ– हामी शंकरको एक्लोपन हटाउने विकल्पबारे सोचिरहेका छौं। चिडियाखानाकी निर्देशक सोनाली घोषले भनिन्, ‘शंकरको साथीका लागि हामीले अफ्रिकाबाट अर्को हात्ती ल्याउन सकिन्छ कि भनेर पत्राचार पनि गरेका छौं।

विशेषज्ञहरु भन्छन्, ‘हात्तीलाई खोरमा राख्दा उसलाई मनोवैज्ञानिक असर पर्छ। मानसिक समस्या आउन सक्छ। पछिल्ला केही वर्षयता शंकरको बिग्रँदो हालतप्रति जनावरको हितमा काम गर्ने अन्य संघसंस्थाको पनि ध्यान गएको छ। यसमध्येको एउटा हो– अमेरिकाको एस्पिनल फाउन्डेसन। उक्त संस्थाले आफ्नै खर्चमा शंकरलाई अफ्रिकाको जंगलमा पुनर्वास गराउने प्रस्ताव गरेको थियो तर उसको प्रयास सफल हुन सकेन।

शंकरलाई आफ्नै ठाउँमा फर्काउन निकिता धवनले अनलाइन अभियान पनि सुरु गरेकी छन्, जसमा अहिलेसम्म ९६ हजार ५ सयभन्दा बढीले हस्ताक्षर गरिसकेका छन्।

गैरसरकारी संस्था वर्ल्ड एनिमल प्रोटेक्सन अफ इन्डियाका वाइल्डलाइफ प्रोजेक्ट म्यानेजर शुभोब्रतो घोषका अनुसार अदालतले शंकरलाई अर्को ठाउँमा लैजान अनुमति दिएको खण्डमा विशेषज्ञले उसको स्वास्थ्य जाँच गर्नेछन् र पुनर्वासका लागि फिट भए-नभएको यकिन गर्नेछन्। शंकरको यो मुद्दासँगै उठेको सवाल के पनि हो भने हात्तीजस्तो संवेदनशील प्राणीलाई चिडियाखानामा कैद गरेर राख्नु ठिक हो त? शुभोब्रतो भन्छन्, हात्ती चिडियाखानामा फस्टाउन सक्दैन। यो कुराको पुष्टि थुप्रै अध्ययनबाट भएको छ। त्यसकारण हात्तीलाई चिडियाखानामा राख्नुको कुनै औचित्य छैन। हात्तीलाई अप्राकृतिक ठाउँमा राख्नु भनेको उसलाई दुःख दिनुमात्रै हो।

भारतको केन्द्रीय चिडियाघर प्राधिकरणले सन् २००९ मा चिडियाखानामा हात्तीको प्रदर्शनमा रोक लगाएको थियो। साथै हात्तीलाई ६ महिनाभन्दा बढी एक्लै राख्न पनि नपाइने निर्णय गरेको थियो। जनावर अधिकारकर्मीहरुका अनुसार यो निर्णयले शंकरजस्ता हात्तीको स्थितिमा केही सुधार त भएको छ तर अझै धेरै कुरा गर्न बाँकी छ। शंकरको पक्षमा अदालतको फैसला आएको खण्डमा यसले दूरगामी प्रभाव पार्नेछ।  

बीबीसी हिन्दीमा जोया मतीनले तयार पारेको सामग्रीको भावानुवाद

प्रकाशित: Feb 01, 2022| 07:49 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।