काठमाडौं- नेपाल भेटेरिनरी एसोसिएसनले बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सकतर्फको छैटौँ तहको पदपूर्तिका निम्ति एक तहमाथिको न्यूनतम शैक्षिक योग्यता राखी पशु चिकित्साशास्त्रमा स्नातकको उपाधि प्राप्त गरेको सूचना प्रकाशित गरेकामा विरोध जनाएको छ।
आयोगले यही माघ १० गते प्रदेशका विभिन्न सातवटा स्थानीय तहमा स्थायी पदपूर्तिका लागि गरिएको पदपूर्तिको सूचनामा योग्यता बढाइएकामा एसोसिएसनले गुनासो गरेको छ। एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा योग्यता सच्याउन आग्रह गरिएको छ।
ती पदमा कम्तीमा सातौं तह कायम गरी योग्यता सच्याउन सङ्गठनले आग्रह गरेको छ। स्थानीय तहहरूमा रहने कृषि सेवाको भेटेरिनरी समूहका पदहरू र कर्मचारी सख्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दरबन्दी तेरिजमा व्यवस्था भएकामा पशु चिकित्सकको दरबन्दी सातौँ र आठौं हुने प्रस्टसँग उल्लेख रहेको स्पष्ट पारिएको छ।
एसोसिएसनले गत वर्ष यसैगरी प्रकाशित विज्ञापनबारे २०७७ साल माघ १४ गते बागमती प्रदेश लोकसेवा आयोगमा अनुरोध गर्दै उक्त पदहरूलाई कम्तीमा सातौं तह कायम गरी योग्यता सच्याउन अनुरोध गरिएको र सर्वोच्च अदालतमा उक्त विषयकै मुद्दा विचाराधीन छ। आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी पटकपटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पुर्याउने काम नगर्न आग्रह गरिएको छ।