बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुर महानगरपालिकामा बन्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको हो।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुर महानगरपालिकामा बन्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको हो। 

शिक्षक अस्पताल चितवनमा निर्माण गर्न भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको थियो। यसका लागि महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने महानगरले जानकारी दिइसकेको छ। 

शिक्षा मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न डा. विमल चालिसेको संयोजकत्वमा बनेको समितिले चितवनका साथै मकवानपुरको चित्लाङ र भक्तपुरको जगाती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गरेको थियो। समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौँमा समेत जग्गा हेरेको थियो।

भरतपुर महानगरले भगवानपुरमा आठ बिघा १६ कट्ठा जग्गा उपलब्ध गराउने निर्णय गरी शिक्षा मन्त्रालयमा कागजपत्र बुझाएको थियो। 

महानगरले सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिकको स्थलगत नापजाँच प्रतिवेदन, वडा नम्बर १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय मन्त्रालयलाई पेस गरेको थियो। 

शिक्षक अस्पताल चितवनमा बनाउने विषयमा नेकपा माओवादी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल र भरतपुरकी मेयर रेणु दाहालले चासोका साथ हेरेका थिए। शिक्षा मन्त्रालयले सुरुमा तीन सय शैयाको अस्पताल र बिरामी कुरुवा घर निर्माण गरेर त्यसलाई विस्तारै थप गर्ने योजना बनाएको छ।

मन्त्रिपरिषद्को निर्णयपछि मेयर दाहालले महानगरबासीलाई बधाई दिएकी छन्। 

चितवनको भरतपुरमा अहिले क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र संघीय सरकारी अस्पताल रहेका छन्।

प्रकाशित: Jan 31, 2022| 18:53 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...