काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लाका एमाले अध्यक्षहरूको बैठकले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनु अगावै आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात् गर्दै यथाशक्य छिटो निर्वाचनको मिति घोषणा गर्न बैठकले माग गरेको हो।
सोमबारको बैठकमा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य तथा भक्तपुरका अध्यक्ष बचन देउजा सहभागी थिए। बैठकले कुनै पनि बहानामा निर्वाचन सार्ने काम सरकारले गरे त्यो असंवैधानिक, गैरकानुनी र अराजनीतिक ठहर्ने निष्कर्ष पनि निकालेको छ।