काठमाडौं– काठमाडौंको मित्रपार्कमा सोमबार एक युवकको शव फेला परेको छ। मित्रपार्क ओरालोमा युवकको शव फेला परेको हो।
आइतबार राति सोही ठाउँमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले घटनास्थलमा रहेका दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल छन्। पक्राउ पर्नेहरू मृतकका साथी हुन् वा होइनन् भन्ने पनि खुलेको छैन।
झगडा गर्ने अर्का एक जना भने फरार रहेको बताइएको छ। युवकको मृत्यु उनीहरूकै कुटपिटबाट भएको हो वा अन्य कारणले भन्ने खुलेको छैन। मृतकको पहिचान पनि खुलेको छैन। सीसीटीभी फुटेज हेरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको छ।