काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। दुई नेता बीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
दुई नेताबीच भएको छलफलको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन्। यद्यपी एमसीसी लगायतका विषयमा छलफल भएको बुझिएको छ। एमसीसी पछिल्लो समय पेचिलो बनिरहेको छ। प्रधानमन्त्री देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा छन्। सत्तारुढ गठबन्धनको बैठकमा समेत एमसीसी पास गर्नुपर्ने धारणा देउवाले राखेका थिए। तर, गठबन्धनका अन्य दल भने एमसीसी यथास्थितीमा पास गर्ने पक्षमा देखिँदैनन्।
एमसीसीका विषयमा गठबन्धनमा तिव्र मतभेद देखिएपनि यही कारणले गठबन्धन नभत्कने नेताहरुले बताइरहेका छन्। आइतबार मात्रै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका कारण गठबन्धन नभत्कने बताएका थिए।