काठमाडौं – बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराइएको हो।
पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए। उनले गल्फसँगै उद्योग संगठनमा आर्थिक सम्मेलन गर्ने पनि जानकारी दिए।
उनले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको उल्लेख गरे। उनले भने, ‘उद्योग संगठनसँगै मिलेर जसरी गल्फ र इकोनोमिक समिट सँगै आयोजना गरिएको छ। त्यसले यो क्षेत्रकै लागि सहयोग पुग्नेछ। हामी सबैको मेहनतले गर्दा बाह्रखरीले हामीलाई विश्वास गर्नुभयो।’
उनले प्रदेशभरका निजी क्षेत्रका मुद्दा उठान गर्ने पनि बताए। उनले भने, ‘सोमबारदेखि राउन्ड टेबल आयोजना गर्नेछौँ। त्यसलाई लिपिबद्ध गरेर समिटमा प्रस्तुत गर्नेछौँ।’
प्रतियोगिताबारे गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले जानकारी गराएका थिए। उनले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए।
आचार्यले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागी गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विधामा पुरस्कार दिइनेछ।
आचार्यले भने, ‘ ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ। उनीहरूलाई गोल्डेन बल दिनेछौं। यस्तो व्यवस्था संसारमा कहीं पनि छैन।’