काठमाडौं– राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमबार दिउँसो १ बजे बस्ने भनिएको संघीय संसद् राष्ट्रियसभाको बैठक स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकिएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएका छन्। ‘मिति २०७८ साल माघ १७ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्‚ राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।
यसअघि माघ ३ गतेको बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने भएपछि स्थगित गरिएको थियो ।