काठमाडौं– नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मोरिससविरुद्धको शनिबार साँझ सम्पन्न खेलमा नेपाली खेलाडीले मेहनत गरेर खेलेको बताएका छन्। दशरथ रंगशालामा शनिबार नेपालले मोरिससविरुद्ध १–० गोलको जित निकालेपछि अलमुताइरीले खेलाडीको प्रशंसा गरेका हुन्।
उनले भने, ‘खेलाडीले मुटुदेखि नै खले। उनीहरुले आज केही विषेश देखाए। हामीले शारीरिक रुपमा बलियो टिमसँग खेलिरहेका थियौँ। त्यसमा राम्रो गरेकाले म खुसी छु।’
उनले नेपाली टिमले अहिले एसिया कपको तेस्रो चरणको छनोटका लागि तयारी गरिरहेका बताउँदै अझै राम्रो गर्नुपर्नेमा जोड दिए। ‘एसिया कप छनोटमा हामीले फेस गर्ने टिमजत्तिकै शारीरिक रुपमा बलिया खेलाडी थिए मोरिससका। ऊविरुद्ध आजको जित हामीलाई फाइदाजनक भयो।’
उनले आफ्नो परिवारको कारण नेपालमा रहेको बताउँदै नेपाली समर्थकलाई धन्यवाद पनि दिएका छन्। उनले भने, ‘म मेरो परिवारका कारण यहाँ छु। मलाई नेपाली फ्यानले धेरै दिएका छन्, जुन कसैले मलाई दिएका थिएनन्। म समर्थकप्रति नतमस्तक छु।’
अलमुताइरीले दुई खेलका लागि दुई टिम बनाएका छन्। १२ खेलाडी समान भए पनि मंगलबार नेपाले मोरिसससँग खेल्ने दोस्रो टिम हो। यी दुई खेलको मैत्रीपूर्णले नेपालको बरियतामा सहयोग गर्ने उनले बताएका छन्।
‘यो मैत्रीपूर्णले केहि अर्थ राख्दैन। हामीले एसिया कप र अर्को विश्वकपको छनोटबारे सोच्नुपर्ने छ,’ उनले भने, ‘हामी ९७२ अंकमा छौं। आजको खेलमा पनि अंक प्राप्त भएको छ। अब हामीले अर्को खेलमा ४.९ अंक बनाउनु पर्ने छ। त्यसले हामीलाई फाइदा हुन्छ। र हाम्रो वरीयतामा पनि केहि सुधार हुन्छ।’
आजको नेपाली खलाडीले डिफेन्समा गल्ती गरेकाले खेलाडीहरुलाई आफ्नो गल्तीबाट सिक्नका लागि सुझाव दिएका छन्।
‘देवेन्द्र (तामाङ)ले २ वा ३ गल्ती गरेका छन् ४,५ पटक सहयोग पनि गरेका छन्। त्यो खेलमा हुन्छ,’ उनले भने।
उनले दुई खेलाडीलाई डेब्यू गराएका थिए। उनले नयाँ खेलाडीलाई तयार पर्न खोजेको पनि बताएका छन्। तर विशाल बुढा मगर धेरै समय खेल्न सक्ने थिएनन्। त्यसैले अन्तिममा हालेको बताए।
आजको खेलमा नेपाललाई जित दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरेका थिए। लामो समयपछि राष्ट्रिय टिममा फर्किएका विमले आज कमब्याक गोल गरे। राष्ट्रिय टिममा विमलले धेरै राम्रो गर्न सक्ने भन्दै अलमुताइरीले बिमलले अब बाहिरी कुरालाई छोडेर फुटबलमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने बताए।
‘हाम्रा लागि विमल विशेष छन्। तर हामी एकै खेलाडीलाई मात्र फोकस गर्दैनौँ। उनले अहिले अन्य कुरामा केन्द्रित नभएर उनी खेलमा मात्र फोकस गर्नुपर्छ। उनी धेरै महत्वपूर्ण छन्। अबको ४८ घण्टामा उनले बाँकी कुरा नहेरी खेलमा मात्र केन्द्रित गर्नुपर्छ। त्यसले उनको भविष्य निर्धारण गर्नेछ,’ विमलको दुई खेलमा ध्यान दिने बताउँदै अलमुताइरीले भने।
त्यस्तै, मोरिससका प्रशिक्षक फ्रान्कोइले आफ्नो टिम लामो समयपछि मैदानका उत्रिएको र अभ्यास पनि लामो नभएको बताएका छन्। उनले खेलपछि भने, ‘नेपाल राम्रो टिम थियो। मैले भन्नैपर्छ हामीले पनि राम्रो खेल्यौँ। हिजो भनेजस्तै, हामीले साढे दुई वर्षदेखि खेलेका थिएनौं। र ४५ दिनको मात्र अभ्यास थियो।’
दोस्रो हाफमा मोरिससले दबाब बनाए पनि गोल बेहोरेपछि भने पाहुनो टिम नर्भस भएको थियो। ‘गोल खाएपछि हामी दबाबमा आयौँ। त्यो नै टर्निङ पोइन्ट थियो। त्यो बेलामा उनीहरुले स्कोर पनि गरे,’ फ्रान्कोइले भने, ‘आशा छ अर्को खेलमा हामी अझै राम्रो गर्नेछौं।’
मोरिससले राम्रा अवसर बनाए पनि गोल गर्न चुकेको थियो। ‘यदि आजको खेलमा फर्नान्डोले गोल गरको भए अवस्था केहि फरक हुन्थ्यो। तर किपरले बचाए। नेपाली गोलकिपर धेरै राम्रा छन्।’फ्रान्कोइले अर्को खेलमा आफ्नो टिममा केहि परिवर्तन गर्ने बताएका छन्।
मोरिससका मुख्य चार खेलाडीमा कोभिड देखिएपछि उनीहरु अहिले आइसोलेसनमा छन्। आज चार मुख्य खेलाडीले नखेलेको भन्दै उनले अर्को चार खेलाडी पनि आउने र राम्रो हुने बताएका छन्। तर आइतबार उनीहरुको क्वारेन्टिन अवधि सकिने छ र उनीहरु मुख्य टिमसँग अभ्यासमा जोडिनेछन्।