विराटनगर- मोरङ जिल्ला धनपालथान गाउँपालिका-७ को बोर्डिङ टोल नजिकै बुधबार एक पुरुषको शव फेला पर्यो। घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ। उक्त स्थानमा स्थानीय गंगाप्रसाद सिंहले उखु लगाएका छन्।
गंगाको उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा एउटा शव भेटे स्थानीयले। यसपछि प्रहरीकोमा खबर पुग्यो। प्रहरीले खाल्डोबाट पुरुषको शव निकाल्यो।
शव हेर्दा उनी अन्दाजी ३५ वर्षका हुन् भनेर अनुमान गर्न सकिन्छ। शव निकालेको ४८ घण्टा बित्दा पनि मृतकको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन।
000
बुधबार शव फेला परेको स्थाननजिकै करिब ३० मिटर पूर्व बरजंगी सिंहको उखुबारीमा बिहीबार अर्को शव फेला पर्यो। उखु काट्दै गएका किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटेका थिए। उखुबारीभित्र शंकास्पद खाल्डो भेटिएपछि किसानले प्रहरीलाई खबर गरेका थिए। लगत्तै पुगेको प्रहरीले करिब ७ फिट गहिरो खाल्डोमा कपडासहित गाडेको अवस्थामा अर्को शव फेला पर्यो।
बिहीबार खाडलबाट निकालिएको शवको तत्कालै पहिचान खुल्यो। उनी थिए सुनसरीको धरान-३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ। मृतकको साथबाट प्रहरीले नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र फेला पारेपछि उनलाई पहिचान गर्न सहज भएको थियो।
मोरङ प्रहरीका एसपी जर्नादन जिसीका अनुसार दुवै शव हत्या गरेपछि गाडेको अनुमान गर्न सकिन्छ। कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए।
प्रहरीले शवको पहिचान गरेसँगै आफन्तलाई झिकाएर मृतक श्रेष्ठको पृष्ठभूमि केलाउँदै छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका डिएसपी दीपक श्रेष्ठले बताए। ‘अनुसन्धान गरिरहेका छौं। चाँडै निष्कर्षमा पुगिनेछ,’ उनले भने।
000
शवको पोस्टमार्टम रिपोर्टपछि श्रेष्ठका आफन्तले शुक्रबार शव बुझेर सिंघियाघाट विराटनगरमा अन्त्यष्टि गरेका छन्।
मोरङ प्रहरीका एसपी जर्नादन जिसीका अनुसार दुवै शव हत्या गरेपछि गाडेको अनुमान गर्न सकिन्छ। कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए।
श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ। एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
000
मृतक श्रेष्ठ जग्गाको कारोबार गर्थे। यसकारण लेनदेन वा कारोबारमा विवाद भएकाले कसैले रिसईबी साँध्न हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले आफन्तसँग प्रारम्भिक सोधपुछ गरेसँगै श्रेष्ठको कारोबारको विवरण, उनीसँगै कारोबारमा रहेका साझेदार, प्रयोग गरिएको मोवाइल तथा सामाजिक सञ्जालसम्म पुगेर अनुसन्धान गरिरहेको हो।
उस्तै प्रकृतिका दुई वटा शव नजिकनजिकै भेटिएकोले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
'उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई शव भेटिएका छन्। यसलाई हामीले गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएका छौँ। एक जना मृतको पहिचान खुलेकाले अनुसन्धानमा केही सहज भएको छ। तर अर्का एक जनाको पहिचान हुन नसक्दा केही चुनौती पनि छन्। तर अनुसन्धानका क्रममा भएकाले कुनै निष्कर्षमा पुगिहालिएको छैन,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'शव नजिकनजिकै भेटिनु। एउटै प्रकृतिले गाडिनु जस्ता कारणले एकै समूहको संलग्नता हुन सक्ने अनुमान छ। अनुसन्धान पूरा भएपछि यस सम्बन्धमा प्रहरीले थप प्रकाश पार्छ।'
विदेश र व्यापारबाट कमाई नभएपछि जग्गा कारोबार गर्थे श्रेष्ठ
सुनसरीको धरानमा राजेन्द्र श्रेष्ठले २५ वर्ष सुन पसल चलाए। व्यापार राम्रो नभएपछि उनी जापान गए। ८ वर्ष जापान बसेर फर्किएका उनले काठमाडौंमा इलेक्ट्रिक पसल खोले। पसलबाट पनि राम्रो आम्दानी नभएपछि उनी साथीहरुसँग मिलेर जग्गा कारोबारतर्फ मोडिएका थिए।
'व्यापार र विदेशबाट पनि उसलाई फाइदा भएन,' मृतकका दाजु चन्द्रबहादुरले भने, 'व्यवहार मिलाउनु छ भन्दै मंसिर ४ गते भक्तपुरदेखि धरान जान्छु भनेर हिँडेको थियो।'
शव छिटो गलोस्उ भनेर नुनको प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ। नुनकै कारण शव निकै सडेको पाइएको स्थानीयको भनाइ छ। मृतक दुवै जनाको शव गाड्दा खनिएको खाल्डो मिलाएर खनिएको पाइएको छ।
व्यापारिक साझेदारले पैसा खाइदिएको गुनासो मृतक श्रेष्ठको हुने गरेको थियो। यो कुरा उनले परिवारमा पनि सेयर गरेका थिए। 'व्यवहार बिग्रिँदै गयो भनेर भाइले गुनासो गर्थ्यो,' चन्द्रबहादुरले भने, 'कसले यस्तो गर्यो थाहा छैन। तर ज्यानै लिनुपर्ने त्यति ठूलो विवाद त थिएन होला। उसले आफ्नो ज्यान नै धरापमा परेको हामीसँग भनेको पनि थिएन।'
श्रेष्ठले झापामा पनि जग्गाको कारोबार गर्ने गरेको खुलेको छ। झापामा १८ विघाको जग्गाको प्लटिङ रहेको खुलेको छ।
शव गलाउन नुनको प्रयोग
शव छिटो गलोस्उ भनेर नुनको प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ। नुनकै कारण शव निकै सडेको पाइएको स्थानीयको भनाइ छ। मृतक दुवै जनाको शव गाड्दा खनिएको खाल्डो मिलाएर खनिएको पाइएको छ।
शवलाई खाल्डोमा घुँडा टेकाएर राखिएको र माथिबाट माटोले पुरिएको थियो। बिहीबार दिनभर घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान गरेको थियो। प्रहरीले शवको पोस्टमार्टमसँगै घटनास्थलमा संघीय प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर ल्याएर ‘स्निफिङ’ समेत गराएको थियो।
धनपालथान गाउँपालिका-७ का वडाध्यक्ष हरिप्रसाद यादवले उखुबारीमा हत्या गरिएको अवस्थामा दुई वटा शव भेटिएपछि स्थानीयबासी त्रसित भएको बताए। यस्तै प्रकृतिका घटना अरु पनि हुन सक्ने देखिएको भन्दै ठुलो संख्यामा प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाउनु पर्ने बताए।