काठमाडौं- क्यामरुनमा जारी अफ्रिकाको सबैभन्दा ठूलो महादेशीय फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको बुधबार राति सम्पन्न खेलमा इजिप्ट र इक्वेटेरियल गिनीले जित निकालेका छन्।
क्यामरुनको डोउला रंगशालामा सम्पन्न बुधबारको पहिलो खेलमा इजिप्टले आइभोरी कोस्टलाई टाइब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।
खेलको निर्धारित ९० मिनेटमा गोल नभएपछि ३० मिनेटको समय थप गरिएको थियो। थपिएको समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुट आउटको अवस्थामा पुग्यो।
अन्तिममा इजिप्टका लागि अहमद सहिद, अमर इल सोलिय, ओमर कमल सयद, मोहम्मद अब्देलमोनेम र मोहम्मद सलाहले गोल गरेर ५–४ को जित निकालेका हुन्।
त्यस्तै, बुधबारको दोस्रो खेलमा पनि माली र इक्वेटेलिरयल गिनीले गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो।
टाइब्रेकरमा गिनीले मालिलाई ६–५ गोलअन्तरले हराएको हो। यससँगै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण पुरा भएको छ।