काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक अफताफ बलोचको ६८ वर्षको उमेरमा पाकिस्तानको लाहोरमा निधन भएको छ।
उनले एक खेलका दौरान ४२८ रन बनाएका थिए। बलोच त्यो खेलका लागि सधैं सम्झिइन्छन्। उनी सन् १९७३ देखि १९७४ सम्म सिन्धुको कप्तान रहँदा बलोचिस्तानविरुद्ध सो रन बनाएका थिए।
उनले पाकिस्तानको टिमबाट दुईवटा टेस्ट खेलेका छन्। उनले १६ वर्षको उमेरमै न्युजिल्यान्डविरुद्ध १९६९ मा पहिलो टेस्ट खेलेका थिए। डेब्यू खेलमा उनले २५ रन बनाए। त्यसको ६ वर्षपछि मात्र उनले दोस्रो खेलमा अवसर पाए।
दोस्रोमा बलोचले १२ र अविजित ६० रन बनाएका थिए। त्यसपछि उनले पाकिस्तानको टिमबाट खेल्न छानिएनन्।
उनले पाकिस्तानको टिमबाट आठ ए क्लब क्रिकेट खेलेका छन्। त्यसमा उनले चार सयभन्दा धेरै रन बनाएका छन्। उनका पिता शमशेर बलोचले गुजरात र महाराष्ट्रका लागि क्रिकेट खेल्ने गर्दथे। शमशेरले भारत विभाजन हुनुपूर्व रन्जी ट्रफी पनि खेलेका थिए।
केहि समयपछि उनी पाकिस्तानको युवा टिमको व्यवस्थापक बनेका थिए भने उनी ए टिमको पनि व्यवस्थापक बने। सन् २००१ मा बलोचले नेपाली क्रिकेट टिम सम्हालेका थिए। त्यतिबेला क्यानडामा आयोजना भएको आईसीसी ट्रफीमा उनले नेपाली टिम सम्हालेका थिए।
उनको निधनपछि नेपाल क्रिकेट संघ (क्यान) ले श्रद्धाञ्जली अर्पण गरेको छ। ‘उहाँको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ। दिवंगत आत्माले शान्ति पाओस् भनी कामना गर्दछौं र शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं,’ क्यानले लेखेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले पनि उनको मृत्युमा बुधबार शोक मनाएको छ।