मंगलबार, असार ३०, २०८३

निर्माता जोगाउने बक्स अफिस लागू

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली सिने नगरीमा निर्माताहरूले बल्ल राहतको सास फेरेका छन् । लामो समयदेखि बक्स अफिस लागू गर्न माग राखेका सिनेकर्मीहरूको सपना पूरा भएको छ। 

प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम’१ साउनमा चलचित्र विकास बोर्डको हलमा ‘गोकुल’ पासपोर्ट की–बोर्डमा लेखेर बक्स अफिस उद्घाटन गरेका छन्। 

त्यस अवसरमा मन्त्री बाँस्कोटाले सिनेमा हलहरूको वर्गीकरण गरिने बताए। सिनेमा हलहरूमा मन्त्रालय र बोर्डको संयुक्त लगानीमा स्तरीय हल बनाउँदै बक्स अफिस लागू गरिने उनले बताए। 

नेपाली फिल्म उद्योग अर्थात् कलिउड बामे सर्दै गरेको उनले उल्लेख गरे। अन्तर्राष्ट्रिय विज्ञापनलाई नेपालीमा ‘डब’ गरेर चलाउने क्रमलाई रोकिने उनले जानकारी दिए। अन्तर्राष्ट्रिय स्तरबाट पनि यसमा दबाब आउन सक्ने र सरकार त्यसबाट नकाम्ने उनको भनाइ छ।

मन्त्री बाँस्कोटाले बसुन्धरा भुसालको उदाहरण दिँदै भने, ‘फिल्म जीवन, परम्परा, संस्कृति र देशको गौरवसँग जोडिएको छ।’ छाप्रोबाट फिल्म हललाई अझ व्यवस्थित गर्ने उनले बताए। चलचित्र विकास बोर्डले बक्स अफिसलाई तदारुकताका साथ कार्यान्वयनमा ल्याउने मन्त्री बाँस्कोटाले बताए। 

पहिलो चरणमा ११ वटा मल्टिप्लेक्ससहित २० सिनेमा हलहरूमा बक्स अफिस लागू गरिएको छ । बक्स अफिसको तथ्यांक डाटा सेन्टरमा अभिलेखीकृत हुनेछ। 

यसबाट चलचित्रको विकास र नेपाल सरकारको राजश्व सुनिश्चित हुने कार्यक्रममा जानकारी दिइएको थियो। यसलाई क्रमशः देशका अरू सिनेमा हलहरूमा पनि लागू गर्ने तयारी छ। आर्थिक वर्ष ०७५-७६ भित्र राजधानीबाहिरका हलहरूमा पनि बक्स अफिस लागू गरिने कार्यक्रममा जानकारी दिइएको थियो। 

कार्यक्रममा आकाश अधिकारी, नीर शाह, यादव खरेल, केशव भट्टराई, शिव श्रेष्ठ, नवल खड्का, रामकिशोर बोगटी, सुचित्रा श्रेष्ठ, राजकुमार राई, निकिता पौड्याललगायत चलचित्रकर्मीहरूको उपस्थिति थियो। 

के हो बक्स अफिस ?

बक्स अफिस एक टिकट बिक्री गरिने कार्यालय हो । विश्वव्यापी रूपमा सिनेमा हलहरूमा बक्स अफिसको अवधारणा लागू भएको छ। फिल्म या रंगमञ्च सोका लागि पनि बक्स अफिसलाई समानार्थी शब्दका रूपमा लिइने गरेको छ। 

यसमार्फत् बिक्री भएका टिकटको संख्या र त्यसवापत उठेको राजश्वका आधारमा कुनै चलचित्रले कति व्यापार गर्‍यो भन्ने स्पष्ट आँकडा आउने गर्छ। रचनात्मक उद्योग तथा प्रशंसकहरूका लागि यसमार्फत् हुने या भएको व्यापारको प्रक्षेपण र विश्लेषण महत्वपूर्ण मानिन्छ। खासगरी, हलिउड उद्योगले बक्स अफिसको अवधारणालाई सबैभन्दा पहिले आत्मसात गरेको हो। 

यस्ता धेरै वेबसाइटहरू भेट्न सकिन्छ, जसले बक्स अफिसमा बिक्री हुने टिकटहरूको निगरानी गर्छन्। ‘बक्स अफिस’,‘बक्स अफिस इन्डिया’, ‘बक्स अफिस मोजो’, ‘कोइमोई’, ‘सोबिजेड डेटा’ र ‘दी नम्बर’ संसारभर विख्यात केही बक्स अफिस हुन्। 

अमेरिकामा इन्टरनेटको विकासभन्दा अगाडि नै यसको जानकारी उपलब्ध थियो। अमेरिकी फिल्म र फिल्म उद्योगका लागि पुरानो बक्स अफिसको रिपोर्टिङ एक महत्वपूर्ण स्रोत बन्दै आएको छ। 

सन् १९२० मै अमेरिकाका केही शहरमा बक्स अफिसको कुल आम्दानीबारे जानकारी सार्वजनिक गर्न थालिएको थियो। सन् १९४६ देखि तीन पृष्ठको बक्स अफिस सर्वेक्षण प्रकाशित गर्न थालियो, जसमा अमेरिकाका २५ प्रमुख शहरमा बक्स अफिस परिणामहरूका आधारमा साताको हिट र फ्लप प्रदर्शनको सूची हुन्छ। 

भारतमा १० जुन २००३ देखि बक्स अफिस इन्डिया नामको वेबसाइट सञ्चालनमा आएको हो। भारतबाट पाकिस्तान, बंगलादेश, नेपाललगायत बलिउड फिल्महरू निर्यात हुने मुलुकबाट उक्त वेबसाइट हेर्ने गरिएको छ। यसका दैनिक भिजिटर औसतमा ८३ हजार आठ सय ५४ हुने गर्छन्। र, विज्ञापनलगायतबाट मासिक कमाइ औसतमा सात हजार पाँच सय ४७ अमेरिकी डलर हुने गर्छ। 

उक्त वेबसाइटले सबै समयको अभिलेखका साथमा बक्स अफिस अपडेट गर्ने गर्छ । हरेक हिन्दी फिल्मको विश्वव्यापी कुल आम्दानीबारे त्यही अपडेटमार्फत् जानकारी प्राप्त हुने गर्छ। 

चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणाली हो यो। उक्त प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्यांक लिन सकिन्छ। टिकट बिक्रीको यकिन तथ्यांक आउने भएकाले हल सञ्चालकले फिल्मका लगानीकर्तालाई झुक्याउन सक्दैनन्। र, त्यसको सम्पूर्ण विवरण निर्माता र वितरकले घरमै बसी-बसी थाहा पाउन सक्छन्। 

बक्स अफिस पूर्ण रूपमा कार्यान्वयनमा आउन सबै हलमा ई–टिकेटिङ प्रणाली लागू हुनु अनिवार्य छ। अहिले पुराना सिनेमा घरहरूमा ई-टिकेटिङ उपलब्ध छैन। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।