काठमाडौं- पठाओ चालकलाई लुट्न यात्रु बनेर चढेका युवाले नै चालकलाई हातखुट्टा बाँधेर झाडीमा फालिदिएको खुलेको छ। कोटेश्वरबाट ललितपुरको धापाखेल जाने भन्दै शनिबार राति ११ बजेतिर चढेका २१ वर्षीय सुमन तामाङले गन्तव्यमा पुगेपछि अर्का युवाससँग मिलेर चालकलाई लुटेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
उनका अनुसार प्रदेश ०२-९०१९००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकलका पठाओ राइडर काठमाडौं निवासी २५ वर्षीय प्रवीण राई सुमनलाई लिएर धापाखेल गए। गन्तव्यमा पुगेपछि सुमनले अर्का युवक मीनराज राईलाई बोलाएर चालक प्रवीणलाई कुटपिट गरे, मुखमा पट्टी र हातखुट्टा बाँधिदिएर सडकबाट तल झाडीमा फालिदिए।
उनलाई झाडीमा फालेपछि मोटरसाइकल, त्यसको ब्लु बुक र मोबाइल फोन लुटपाट गरी उनीहरु फरार भएको पीडितले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ।
पीडितको उजुरीपछि प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न दुवै जनालाई पक्राउ गरेको छ।
बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सो-रुम नजिकैबाट चोरी भएका सामानसहित उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता शाहले जानकारी दिए। पक्राउ पर्ने सुमन तामाङ सिन्धुलीको खनियाखर्कका हुन् भने उनीसँग मिलेर प्रवीणलाई कुटपिट गर्ने मीनराज खोटाङको हलेसीका रहेको शाहले बताए।
उनले भने, 'दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।'