काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी तीन जना नक्कली परीक्षार्थी पक्राउ गर्यो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, बिहारका ३४ वर्षका शशिभूषण सिंह र बिहारकै ३२ वर्षका कृष्ण मुरारी रहेका छन्।
यसअघि नै करिब ५० जना नक्कली परीक्षार्थीले परीक्षा दिन नक्कली परीक्षार्थीको फोटो मिलाएर फारम भरेको खुलेको थियो।
उनीहरु भरतीय र नेपाली विद्यार्थी दुवै भएको बताइएको थियो। तर, सीआईबीले परीक्षामा नै सामेल भएका तीन जनालाई पक्राउ गरेको हो।
नक्कली परीक्षार्थीमात्र नभएर प्रवेश परीक्षाको प्रश्नपत्र समेत बाहिरिएको र नक्कली परीक्षार्थीहरुलाई सो प्रश्नपत्र घोकाइएको समेत खुलेको थियो। प्रश्नपत्र आउट गराउन नेपाली एजेन्ट र केही आयोगकै कर्मचारीको संलग्न रहेको बताइएको थियो।
स्रोतका अनुसार एजेन्टले १२ जना भारतीय र २४ जना नेपाली विद्यार्थीहरुलाई विभिन्न होटल तथा रिसोर्टमा राखेर प्रश्न र उत्तर घोकाइएको थियो।
यसरी नक्कली परीक्षार्थी फेला परेको यो पहिलो पटक भने होइन। विभिन्न परीक्षाहरुमा पछिल्लो समय नक्कली परीक्षार्थीहरुको बिगबिगी बढ्दै गएको छ।

यसअघि पुस १७ गते सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। पक्राउ पर्नेमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई थिए।
त्यसैगरी साउन २१ गते प्रहरीले जवान पदको प्रदेश १ प्रहरी तालिम केन्द्र विराटनगरले लिएको परीक्षामा संलग्न ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। ६ जना नक्कली परीक्षार्थीलाई अन्तरवार्ताका क्रममा पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ का १९ वर्षीय सरोज राई, धनकुटा शहीदभूमि गाउँपालिका-३ का २१ वर्षीय खपाङ राई र २७ वर्षीय राजकुमार राई थिए।
२०७७ फागुनमा २३ मा कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगायत २२ जना पक्राउ परेका छन्।
लोकसेवा आयोग दिपायल केन्द्रबाट सञ्चालन भएको प्रहरी जवान (खुला तथा समावेशी) जनपदको लिखित परीक्षामा नागरिकताको प्रमाण पत्र र प्रवेशपत्रमा समेत फोटो परिवर्तन गरी हस्ताक्षरसमेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ परेका थिए।
नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कैका नाममा परीक्षा दिन लगाउने र दिने दुवै व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। २०७७ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको पाइएपछि डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्का र परीक्षा दिन लगाउने बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षीय मुकेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो।
लोक सेवा आयोगले शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा लिएको थियो। परीक्षामा सहभागीको प्रवेशपत्र जाँच गर्ने क्रममा फोटो नमिलेपछि अर्कोको नाममा परीक्षा दिँदै गरेको खुलासा भएको थियो।
सवारी लाइसेन्स र ईपीएसमा पनि नक्कली परीक्षार्थी
सवारी चालक अनुमती पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा पनि नक्कली परीक्षार्थीहरु भेटिएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको सुकेधारास्थित नक्कली नेपाली नागरिकता बनाइ फरक व्यक्तिले ट्रायल परीक्षा दिँदै गर्दा दुई जना पक्राउ परेका थिए।
पक्राउ पर्नेमा मकवानपुरका मानबहादुर ब्लोन र ललितपुर सात दोबाटोका सरोज शाही थिए। उनीहरुले अर्काको फोटो टाँसेर प्रयोग गरिएको नागरिकता, यातायात व्यवस्था विभागबाट परीक्षकका लागि दिइएको निवेदन बरामद गरिएको थियो।
कोरिया जानका लागि भएको भाषा परीक्षा (ईपीएस) मा पनि नक्कली परीक्षार्थीहरु संलग्न भएको पाइएको थियो। ईपीएस प्रणालीबाट रोजगारीका लागि कोरिया जान भाषा परीक्षा लेख्ने ४८ जना नक्कली परीक्षार्थी भएको पाइएको थियो। २०७४ मा भएको भाषा परीक्षामा अर्काको परीक्षा दिइरहेका एक महिला र ४७ जना पुरुषलाई प्रहरी पक्राउ गरेको थियो।
ईपीएसको परीक्षा दिनका लागि आठ लाख रुपैयाँसम्मको सेटिङ भएको पाइएको थियो। सक्कली परीक्षार्थी उपत्यका बाहिर घरमा बसेको अवस्थामा उसैको नाममा अर्कोले परीक्षा दिइएको र त्यसका लागि दुई लाख रुपैयाँदेखि आठ लाख रुपैयाँसम्म सेटिङ भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।