काठमाडौं- चिकित्सा शिक्षा आयोगको एमडी/एमएसको प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनेका तीन भारतीय पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले नक्कली परीक्षार्थी, परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्ने तीन जना पक्राउ परेका छन्।
माघ ८ गते भएको परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने, बिचौलियाको काम गर्ने र अमार्यादित गतिविधि गर्ने तीन जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
पक्राउ पर्नेमा भारतका उत्तर प्रदेश राज्यको गोण्डाका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, भारतकै बिहारको सिक्टाका ३४ वर्षीय शशीभूषण सिंह र बिहारको खगरीयाका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन्।
मिश्रा र सिंहलाई काठमाडौंको एलआरआई स्कूल कलंकीबाट र मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्याङबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।
उनले भने, 'पक्राउ परेका तीनै जनालाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको छ।'